नवनियुक्त राजदूतसँग श्रममन्त्री कुँवरको भेटवार्ता, नेपाली श्रमिकको सुरक्षाबारे चासो व्यक्त
काठमाडौं । श्रम, रोजगार तथा सामजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले साउदी अरेबिया र दक्षिण अफ्रिकाका लागि नवनियुक्त राजदूतसँगको भेटवार्तामा वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकको सुरक्षाका विषयमा चासो व्यक्त गरेका छन् ।
मन्त्री कुँवरले आज साउदी अरेबियाका लागि नेपाली राजदूत नवराज सुवेदी र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत दानबहादुर तामाङलाई मन्त्रालयमा बोलाएर वैदेशिक रोजगारीमा रहेका नेपालीले भोग्दै आएका समस्याका बारेमा छलफल गरेका हुन् ।
उनले नेपाली श्रमिकको कामको सुनिश्चितता र सुरक्षाका विषयमा विशेष ध्यान दिन निर्देशन दिए । “यहाँबाट जाने कामदारले उता भनेअनुसार काम नपाउने गुनासा धेरै सुनिन्छन् । पठाउने व्यक्ति वा कम्पनीले उनीहरुलाई ठग्ने गरेका कारण बिचल्लीमा परेका घटना आइरहन्छन्, यसबारे विशेष ध्यान दिन म आग्रह गर्न चाहन्छु”, मन्त्री कुँवरले भने ।
मन्त्रालयका सचिव एकनारायण अर्यालले विदेशी भूमिमा कोमामा रहेका र अङ्गभङ्ग भएर उपचार गराइरहेका नेपाली श्रमिकलाई स्वदेश फर्काउन सरकार गम्भीर रहेको र दूतावासले सरकारको भावनाअनुसार भूमिका खेल्नुपर्ने बताए । अहिले साउदीमा मात्रै २५ जना नेपाली श्रमिक कोमामा छन् ।
सो अवसरमा राजदूत सुवेदीले साउदी सरकार र नेपालबीच श्रम सम्झौताका लागि पहल गर्ने बताए । अवैधानिकरूपमा कामदार जाँदा विभिन्न जटिलता निम्तिने भएकाले द्विपक्षीय श्रम सम्झौता भएमा त्यस्ता समस्या न्यूनीकरण हुने उनले बताए । साउदीमा समस्यामा परेका श्रमिकको उद्धार र राहतका लागि पहल गर्ने उनको प्रतिबद्धता छ । अर्का राजदूत तामाङले दक्षिण अफ्रिकासँगै केन्या तथा तान्जेनियाका कारागार र अस्पतालमा रहेका नेपालीको उद्धारका लागि पहल गर्ने बताए ।







डिसी नेपाल








Facebook Comment