ट्राफिक चेतनासहित मेट्रो ट्राफिक एफएमको वार्षिकोत्सव
काठमाडौं । विविध चेतनामूलक कार्यक्रमसहित मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १०औँ वार्षिकोत्सव आज सम्पन्न भएको छ ।
ट्राफिक चेतनामूलक साँस्कृतिक कार्यक्रमका साथ आज बसन्तपुरमा आयोजित वार्षिकोत्सव समारोहमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले जनचेतनाको कमीले सवारी दुर्घटना बढिरहेको बताए ।

उनले ट्राफिक लाइट र लेन अनुशासनसम्बन्धी जनचेतना जगाउन विशेष पहल गर्नुपर्ने र त्यसका लागि काठमाडौँ महानगरपालिकाले नेपाल प्रहरी र ट्राफिक प्रहरीसँग सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता जनाए। उनले ट्राफिक व्यवस्थापन तथा पार्किङ व्यवस्थापनका लागि महानगरपालिकाले ट्राफिक प्रहरीको समन्वयमा आवश्यक पहल गरिरहेको पनि बताए ।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले ट्राफिक एफएमलाई १०औँ वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै अपराध र ट्राफिकसम्बन्धी सचेतनामूलक जानकारीका लागि एफएम सुन्न अनुरोध गरे ।

उनले साङ्गीतिक प्रस्तुतिबाट मनोरञ्जनसमेत दिँदै आएको एफएमलाई यो स्थानमा पुर्याउन श्रोता र महानगरपालिकाको सहयोगको प्रशंसा गरे ।
काठमाडौं महानगरपालिकाका निवर्तमान प्रमुख विद्यासुन्दर शाक्यले प्रहरी र महानगरपालिकाले आ–आफ्नो क्षेत्रमा सहकार्य गरेमा सफलता प्राप्त गर्न सकिने बताए । समारोहमा नेपाल प्रहरी साङ्गीत विद्यालयद्वारा गायन, नृत्य, नाटकलगायत विभिन्न कार्यक्रम गरिएको थियो ।









डिसी नेपाल








Facebook Comment