दबावमा ओली
फाइल तस्वीर
काठमाडौं। मंसिरको पहिलो हप्ता निर्वाचनको मिति तोक्ने गरी सरकारले तयारी गरिरहँदा दलहरुबीच चुनावी गठबन्धनलाई बलियो बनाएर जाने कसरस सुरु भएको छ।
सत्ता गठबन्धनले पाँच दलीय गठबन्धनलाई निर्वाचनसम्मै लैजाने निर्णय गर्दा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने दबावमा परेको छ। एमालेले बाम गठबन्धनको संभावना नरहेको जनाउँदै गर्दा पार्टीभित्र गठबन्धन गरेर जान दबाव बढ्न थालेको छ।
स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धन विरुद्ध एक्लै निर्वाचनमा जाँदा दोस्रो दलमा खुम्चिएको एमालेभित्र संसदीय चुनावमा पहिलो दल बन्ने गरी रणनीति बनाउन दबाव बढ्न थालेको हो। त्यसका लागि बाम गठबन्धननै गर्न पनि तयार हुनुपर्ने दोस्रो तहका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई दबाव दिन थालेका छन्।
एमालेभित्र विशेष गरी घनश्याम भुसालले सुरुमा बाम गठबन्धन गर्न पार्टीभित्र आवाज उठाएका थिए। स्थानीय तह निर्वाचनपछि दोस्रो तहका नेताहरुले बाम गठबन्धनको पक्षमा आवाज उठाउन थालेका छन्। उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पनि खुलेर बाम गठबन्धनको पक्षमा आवाज उठाउन थालेका छन्।
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ आगामी निर्वाचनमा विचार मिल्ने दलहरु एकै ठाउँमा उभिनुपर्छ भन्ने आफूहरुको मान्यता रहेको बताउँछन्। आफ्नै शक्तिमा विश्वास गर्दै विचार र सिद्धान्त मिल्ने शक्ति एकै ठाउँमा उभिएर आगामी चुनावमा जानुपर्ने उनको भनाइ छ।
‘हामीलाई आफ्नो शक्तिमा विश्वास छ,’ नेम्वाङले डिसी नेपालसँग भने, ‘विचार मिल्ने शक्तिहरु एकै ठाउँमा हुनुपर्छ। निर्वाचनमा जाँदा विचार र सिद्धान्त मिल्ने शक्ति एकै ठाउँमा हुनुपर्छ भनेर हामीले कोशिश पनि गरिरहेका छौं। मैदानमा थुप्रै साथीहरु हुनुहुन्छ। मैदानमा भएका साथीहरुबीच मिल्दै जाने विषयमा हामी खुला छौं।’
बिहीबार बसेको माओवादी स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग गठबन्धनको सम्भावना नरहेको भन्दै कांग्रेससँगको गठबन्धनलाई नै अगाडि लैजाने बताएका थिए।
माओवादीभित्र नेता नारायणकाजी श्रेष्ठ बाम गठबन्धन गर्नुपर्ने पक्षमा छन्। उनले एमालेसँग गठबन्धन गर्नुपर्ने आवाज उठाइरहँदा अध्यक्ष प्रचण्ड भने कांग्रेसलाई दबावमा पारेर बढी सिट हात पार्ने रणनीतिमा छन्।
पाँच दलीय गठबन्धनलाई दिएर एकीकृत समाजवादी भित्र पनि मतभेद छ। एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पाँच दलीय गठबन्धन गर्दा पनि पार्टीलाई सफलता प्राप्त नभएको भन्दै एमालेसँग मिल्नु पर्ने आवाज उठाउन थलेका छन्। स्थानीय तह निर्वाचनमा पार्टीले प्राप्त गरेको मतबाट खनाल चिढिएका छन्। कांग्रेसले आफूहरुको उपयोग मात्रै गरउको उनको गुनासो छ।
एमालेले बाम गठबन्धनका लागि माओवादीले कांग्रेससँगको गठबन्धन छोड्नु पर्ने सर्त राखेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली माओवादी र एकीकृत समाजवादीलाई बाम दल मान्नै तयार छैनन्। कम्युनिष्ट पार्टीको सरकारलाई ढाल्न भूमिका खेलेर कांग्रेसको पुच्छर बनेको भन्दै ओलीले माओवादीसँग तत्काल गठबन्धन नहुने संकेत गरिसकेका छन्।
एमालेले आफ्नो पार्टीबाट अलग भएको एकीकृत समाजवादीसँग भने एकता गर्न सकिने संकेत गरेको छ। पाँच दलीय गठबन्धन कायम रहे त्यसले निर्वाचनमा धक्का लाग्ने विश्लेषण गरेको एमालेले सकेसम्म गठबन्धनलाई तोड्ने रणनीति बनाएको छ।







डिसी नेपाल








Facebook Comment