पर्वतीय र समुद्री टापु राष्ट्रको हितका लागि अझै पर्याप्त अन्तर्राष्ट्रिय कानुन बन्न बाँकीः राष्ट्रपति

डिसी नेपाल
१४ साउन २०७९ १५:५१
16
Shares

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले पर्वतीय र समुद्री टापु राष्ट्रको हितका लागि अझै पर्याप्त अन्तर्राष्ट्रिय कानुन बन्न बाँकी नै रहेको बताएकी छिन्। नेपाल अन्तर्राष्ट्रिय कानुन समाज तथा एशियाली अन्तर्राष्ट्रिय कानुन समाजद्वारा ललितपुरमा आज आयोजित ‘अन्तर्राष्ट्रिय कानुनसम्बन्धी एशिया क्षेत्रीय सम्मेलन’ उद्घाटन गर्दै उनले जलवायु परिवर्तन विश्वमै ठूलो चुनौतीका रुपमा खडा भएको उल्लेख गरेकी छिन्।

जलवायु परिवर्तनको असरलाई सम्बोधन गर्न पनि अन्तर्राष्ट्रिय कानुनको आवश्यकता भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले भनिन्, “विगत तीन दशकयता जलवायु परिवर्तनका बारेमा अनेकौँ अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भए पनि नेपालजस्ता पर्वतीय राष्ट्र एवं धेरै समुद्री टापु भएका राष्ट्रको हितका लागि पर्याप्त अन्तर्राष्ट्रिय कानुन बन्न बाँकी नै छ ।”

उनले न्यायमा आधारित विश्वव्यवस्थाले मात्र नेपालजस्ता विकासोन्मुख राष्ट्रको विशिष्ट आवश्यकतालाई गम्भीरतापूर्वक बोध गर्न र सोहीअनुरूपको नीति निर्माण गर्न सघाउने पनि बताइन् । राष्ट्रपति भण्डारीले न्यायको सम्बन्ध कर्तव्य र उत्तरदायित्वसँग हुने हुँदा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि हरेक मुलुकसँग यसबारे न्यायपूर्ण दृष्टिकोण र भावना निर्माण गर्नसके प्रतिबद्धता हासिल हुने बताइन्।

उनले अन्तर्राष्ट्रिय सम्बन्धको अवलोकन तथा सञ्चालन गर्ने प्रक्रियामा नेपालका मौलिक दृष्टिकोण संविधानमा अभिव्यक्त भएको जानकारी दिइन् । “हामीले करिब सात दशकदेखि असंलग्न परराष्ट्र नीतिको दृढतापूर्वक वकालत र पालना गर्दै आएका छौँ, यसबाट हाम्रो मुलुकको सार्वभौमिकता तथा राष्ट्रिय अखण्डताको रक्षाका लागि आधार प्राप्त हुने विश्वास छ”, राष्ट्रपति भण्डारीले भनिन् ।

नेपाल सबै प्रकारका युद्धको विपक्षमा रहेको र राष्ट्र–राष्ट्रका बीचमा कुनै विवाद उत्पन्न भएमा शान्तिपूर्ण माध्यमबाट त्यसको समाधान खोजिनुपर्नेमा मान्यता राख्ने मुलुक भएको हो भन्दै उनले विश्वमा आणविक हतियारको होडबाजी रोकिनुपर्छ भन्ने नेपालको सुदृढ विश्वास रहिआएको पनि उल्लेख गरिन् ।

राष्ट्रपति भण्डारीले थपिन्, “संयुक्त राष्ट्रसङ्घको बडापत्रमा उल्लिखित पञ्चशीलका सिद्धान्तमा आधारित शान्तिपूर्ण सहअस्तित्व, विश्व–बन्धुत्वको भावना, अनाक्रमण र अ–हस्तक्षेपको नीतिले मात्र विद्यमान अन्तर्राष्ट्रिय कानुनको पालना एवं विकासमा योगदान गर्दछ भन्ने नेपालको स्पष्ट दृष्टिकोण छ ।”विशिष्ट ऐतिहासिक अनुभव, अन्तर्राष्ट्रिय सम्बन्धका आयाम एवं भौगोलिक अवस्थितिको मौलिक परिवेशमा आधारित भई नेपालले अन्तर्राष्ट्रिय कानुनको विकासमा समेत ठोस योगदान गर्दै आएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले त्यसतर्फ सम्मेलनको ध्यानाकर्षण गराइन्।

भूपरिवेष्ठित मुलुकका लागि निर्वाध पारवहन अधिकारको प्रत्याभूति गर्ने ‘समुद्रसम्बन्धी कानुन’ (ल अफ द सी) को निर्माण र विकास गर्न नेपालले ऐतिहासिक भूमिका निर्वाह गरेको उनको भनाइ थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.