१३ वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा युवकविरुद्ध जाहेरी दर्ता

डिसी नेपाल
१४ साउन २०७९ १८:४४
104
Shares

खोटाङ । १३ वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङको जन्तेढुंगा गाउँपालिका–३ काहुलेका दिवाहाङ भनिने देव बान्तवा राईविरुद्ध जाहेरी दर्ता भएको छ ।

मावली घरमा बसेर कक्षा ९ मा पढ्दैगरेकी बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको दाबी सहित अभियुक्त राईविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दर्ता भएको हो ।

छिमेकीको घरमा पूजा खान गएकोबेला २९ चैत २०७८ राती ‘हिँड मेरो घर जाऊँ’ भनेर आफू सुत्ने कोठामा लगेर पहिलोपल्ट जबरजस्ती करणी गरेका अभियुक्तले ‘कसैलाई भने वा उजुरबाजुर गरे मारिदिने’ धम्की दिएकाले घटना बारे तत्काल कसैलाई नभनेको पीडितको जाहेरीमा उल्लेख छ । त्यस यता पटक–पटक जबरजस्ती करणी गरेका आरोपितले पुनः ३० असार २०७९ मा जबरजस्ती गर्ने प्रयास गर्दा भागेर शौचालयमा चुकुल लगाएर बसेर बचेको पीडित बालिका बताउँछिन् ।

मादक पदार्थ सेवन गरेर ‘मसँग हिँड’ भनेपछि अस्वीकार गर्दा हातपात गर्न खोजेपछि शौचालयमा लुकेको अवस्थामा शौचालय बाहिर बसेर ‘छिटो निक्ली’ भन्दै कुरेको बेला अन्य स्थानीय आएपछि प्रतिवादी घर गएको जाहेरीमा भनिएको छ ।

डर धम्कीका कारण कसैलाई केही नबताएकी बालिकाले पटक–पटक जबरजस्ती करणी गर्न खोजेकाले बाध्य भएर छिमेकी भाउजूमार्फत घटना सार्वजनिक गरेको आफन्त डेनी राईले बताए ।

घटना सार्वजनिक भए लगत्तै पीडित पक्षले गत ५ साउनमा दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै इलाका प्रहरी कार्यालय चिसापानी, जन्तेढुंगामा जाहेरी दिएका थिए । तर इलाका प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालयमै जाहेरी दिन भनेपछि १० साउनमा जिल्ला प्रहरी कार्यालय पुगेर दोषीविरुद्ध जाहेरी दिइएको हो । ‘मिल्न’का लागि दबाब दिँदै आएका आरोपित प्रहरीमा जाहेरी परे लगत्तै फरार छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।

जबरजस्ती करणीको घटना सार्वजनिक भएपछि समाज बसेर मिलाउने प्रयास भएको तर नमिलेका कारण ढिलागरी जाहेरी आएको प्रहरीले जनाएको छ । बराहपोखरी गाउँपालिका घर भएकी बालिका आमासँग मावली घरमा बस्दैआएकी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.