जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छः उपसभापति खड्का
पोखरा । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनभावनाअनुरुप काम गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। नेपाली कांग्रेस कास्कीद्वारा स्थानीय तह निर्वाचन–२०७९ मा कांग्रेसका उम्मेदवारको सम्मानार्थ आज आयोजित कार्यक्रममा उनले जनतालाई केन्द्रमा राखेर काम गरेमा नेतृत्व विकाससँगै पार्टी सङ्गठनप्रतिको आकर्षण बढ्ने बताए । नवनिर्वाचित जनप्रतिनिधिलाई इमान्दरिता र जिम्मेवारिताका साथ क्रियाशील बन्न उनले आग्रह गरे।
राष्ट्रिय आवश्यकताका आधारमा नेपालमा राजनीतिक दलहरू एकताबद्ध हुने गरेको बताउँदै उनले आगामी निर्वाचनसम्म नै गठबन्धन कायम रहने बताए। कांग्रेस केन्द्रीय सदस्य गुरु बरालले कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिको जनता तथा समाजप्रतिको जिम्मेवारी अहम् हुने बताउँदै जिम्मेवारीलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताए ।
कांग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाटले कांग्रेसी कार्यकर्ताप्रति समाज तथा राष्ट्रले ठूलो अपेक्षा एवं विश्वास गर्ने बताउँदै त्यही भावनाका साथ समाजका हरेक गतिविधिमा जुट्नुपर्ने आवश्यकता औँल्याए । कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीलाई आगामी निर्वाचनमा अझै बलियो बनाउँदै लैजान सबैको एकताबद्ध प्रयास आवश्यक हुने बताए। कार्यक्रममा पार्टीका उपसभापति रामबाबु भण्डारी, सहसचिव नवीन सिग्देललगायतले आसन्न निर्वाचनमा कांग्रेसलाई अझै सशक्त बनाउने गरी लाग्नुपर्ने आवश्यकता औँल्याए ।







डिसी नेपाल








Facebook Comment