एकीकृत समाजवादीमा एमालेसँग मिल्न दबाव
काठमाडौं। नेकपा एमालेबाट विभाजित भएर बनेको दल नेकपा (एकीकृत समाजवादी) पार्टी भित्र फेरि एमालेसँगै मिल्नु पर्ने दबाव बढ्न थालेको छ। नेताहरु सार्वजनिक रुपमै बैचारिक रुपमा भिन्न देखिएका छन्।
पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल समूहका अधिकांक्ष नेताहरु नै अब एमालेसँगै पार्टी एकता गर्नुपर्ने मत राख्दै आएका छन्।
सम्मानित नेता खनालले त बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको परिणाम आउन साथ गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र) सँग असन्तुष्टि जनाउँदै एमालेसँगै मिल्नु पर्ने मत राख्दै आएका थिए।
खनालको उक्त मत अहिले पनि कायम रहेको उनको पछिल्लो अभिव्यक्तिले पुष्टि गरिरहेको छ। अहिले आएर पार्टीका प्रभावशाली नेता मुकुन्द न्यौपाने पनि एमालेसँगै मिल्नुपर्ने धारणा राखेका छन्।
पछिल्लो समय बाम एकताको चर्चा चलिरहँदा नेता न्यौपानेले एमालेलाई बाहिर राखेर वाम एकता गर्ने प्रयास कम्युनिष्ट सिद्धाउने खेल भएको बताएका छन्।
पार्टीका प्रभावशाली नेता न्यौपानेले नै त्यस्तो धारणा सार्वजनिक रूपमा अभिव्यक्त गरेपछि उनको पार्टीभित्र बहस बढेको देखिन्छ। न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘एमाले बाहेकको कम्युनिष्ट एकता भन्नु नेपालमा कम्युनिष्ट सिध्याउने खेल खेल्नु हो। आजको देशको आवश्यकता नेकपा एमालेसहितको वामपन्थी एकता हो। राष्ट्र र राष्ट्रियताको अलिकति पनि माया छ भने आफूलाई कम्युनिष्टको पहिचानमा राख्न खोज्ने नेताहरूले विगतमा बलियो शक्तिको रुपमा उदाएका कम्युनिष्टहरुलाई फुटाएर आजको अवस्थामा पुर्याउने शक्तिहरु को हुन्? तिनीहरूको पहिचान गर्नु आवश्यक छ।’
न्यौपाने लामो समयदेखि माधवकुमार नेपाल निकट मानिन्छन्। कुनै बेला न्यौपानेको बोली नै माधव नेपालको बोली हो भनेर राजनीतिमा चर्चा हुने गर्दथ्यो।
यसरी पार्टीका शीर्ष नेताहरु सार्वजनिक रुपमै एमालेसँग एकता गर्न लचक देखिएपछि एकीकृत समाजवादीभित्र बहसको विषय बनेको छ। तर पार्टीका केही जिम्मेवार नेताहरुले सार्वजनिक रुपमा एमालेसँगको एकताको पक्षमा देखिए पनि संस्थागत रुपमा पार्टी एमालेसँग मिल्ने र तालमेल गर्ने पक्षमा नरहेको पार्टीका केन्द्रीय सदस्य शंकर भण्डारी बताउँछन्। नेताहरुको सो अभिव्यक्तिहरु व्यक्तिगत मात्र भएको भण्डारीको भनाइ छ।
‘केही नेताहरु व्यक्तिगत धारणा राख्दै हिँड्नु भएको छ। तर, पार्टीमा एमालेसँग तालमेल गर्ने, एमालेसहितको बामगठबन्धन बनाउने भन्ने विषयमा कुनै छलफल र वार्ता भएको छैन। कुन व्यक्तिले के भन्नु हुन्छ, त्यो मुख्य कुरा होइनन। पार्टी भनेको समूहिक निर्णयबाट चल्ने हो। हाम्रो संस्थागत निर्णय भनेको एमालेसँग तालमेल गठबन्धन गर्ने पक्षमा छैन,’ भण्डारीले भने, ‘एमालेसँग कुनैपनि राजनीतिक छलफल भएको छैन। व्यक्तिगत रुपमा भेटघाट हुनु एउटा कुरा हो। तर राजनीतिक छलफल भएको छैन। र पार्टीमा पनि त्यस्तो कुनै दबाव छैन। बरु एमालेका १० भाइमध्येका केही नेताहरुसँग चाहिँ छलफल चरिहेको छ।’
एमालेसँग एकताका लागि शर्त
पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार पनि बाहिर चर्चा भएको जस्तो पार्टीभित्र एमालेसँग मिल्नुपर्ने कुरामा कुनै पनि दबाव नभएकाे दाबी गर्छन्।
उनका अनुसार एकीकृत समाजवादी अहिले एमालेसँग मिल्ने पक्षमै छैन। मिल्नु परे पनि केही सर्तका साथमात्र सम्भव रहेको छ। ‘पार्टी एकता र तालमेलको विषयमा एमालेका कुनै नेतासँग पनि छलफल भएको छैन। व्यक्तिगत भेटवार्ता भएपनि राजनीतिक भेटवार्ता भएको छैन। त्यसकारण एमालेसँगको एकताको सम्भावना छैन,’ उनले भने।
‘एमालेसँग एकता र तालमेल नै गर्ने हुँदा एमालेसँग केही निश्चित सर्तहरु छन्। त्यो कुरा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वीकार गर्नुपर्यो। नत्र एकताको सम्भावना पनि छैन र जरुरी पनि छैन,’ उनको भनाइ छ। खतिवडाका अनुसार एमालेसँग एकता गर्नुपर्ने केही सर्तहरु स्वीकार्नु पर्ने हुन्छ।
शर्तहरुः
१.एमालेले अझै एकीकृत समाजवादी पार्टीलाई राजनीतिक दलको रुपमा स्वीकारेको छैन। त्यसकारण एमालेले राजनीतिक दलको रुपमा स्वीकार गरेर सार्वजनिक घोषणा गर्नुपर्छ।
२. विगतमा केपी ओलीबाट भएका कमिकमजोरीलाई आत्मालोचना गर्नुपर्याे। २ पटकसम्म गरेको संसद विघटन असंवैधानिक थियो। त्यो पनि स्वीकार गर्नुपर्याे।
३.भेटघाट हुँदा राजनीतिक छलफल गर्नुपर्याे। तर अहिले जन्ती जाँदा, मलाम जाँदा मात्र भेटघाट भएको छ। त्यसकारण योजना बनाएर राजनीतिक संवाद गर्नुपर्याे। अनिमात्र एकता र तालमेतको सम्भावना रहन्छ। नत्र एमालेसँग कुनै पनि तालमेलको सम्भावना छैन।
चुनाव अघि कम्युनिष्ट एकता कति सम्भव ?
केही साता अघि तत्कालीन नेकपाका बहुमत सदस्यका शीर्ष नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’माधवकुमार नेपाल, झलनाथ खनाल,बामदेव गौतम,नारायणकाजी श्रेष्ठ संघीय प्रादेशिक निर्वाचन अघि नै नेकपा समाजवादी केन्द्र पार्टी गठन गर्ने विषयमा छलफमा जुटेका थिए।
सो छलफलमा नेकपा समाजवादी केन्द्र गठन गर्नेदेखि लिएर वामपन्थी एकताको पहल गर्ने पनि विषयमा पनि छलफल भएको थियो। तर उक्त छलफलले कुनै पनि सार्थकता पाउन सकेको छैन।
सो नामको पार्टी गठनमा डा.बावुराम भट्टराईलाई पनि जोड्न प्रचण्डले निकै पहल र कसरत गरेका थिए। तर भट्टराई समाजवादी केन्द्र नामक पार्टी स्वीकार गर्न तयार भएपनि नेकपा राख्न असहमत भएपनि सो विषयमा थप छलफल हुन सकेको छैन। जनता समाजवादी पार्टी (जसपा) बाट कारबाहीमा परेका भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरेका छन्।
र अब निर्वाचन अघि कम्युनिष्ट पार्टीको एकताको सम्भावना पनि कम रहेको उपमहासचिव खतिवडा बताउँछन्। ‘पार्टी एकताका लागि सैद्धान्तिक, राजनैतिक, वैचारिक र व्यवहारिक रुपमा एक हुनुपर्छ। त्यसकारण तत्काल कम्युनिष्ट एकताको सम्भावाना कम देख्छु।’
खतिवडाले भने, ‘एमालेसँग सबै कुरामा समानता हुँदा हुँदै पनि व्यवहारिक रुपमा असमानता भएर नै हामी विभाजन भएका हौँ। त्यसकारण हामी सत्तारुढ दलमा रहेको कांग्रेस बाहेकका दलमा गठबन्धनलाई निरन्तरता दिँदै चुनावी उपगठबन्धन बन्न सक्छ। तर बामपन्थी एकतासहितको गठबन्धनको सम्भावन न्युन छ।’
पार्टीको रणनीति अनुसार झलनाथ खनाल एमालेप्रति लचिलो
झलनाथ खनाल पछिल्लो समय कांग्रेससँग भन्दा पनि अझै पनि एमाले पार्टीलाई प्राथमिकतामा राख्नुपर्ने मत राख्दै आएका छन्।
सैद्धान्तिक, व्यवहारिक रुपमा समान हुँदाहुँदै पनि व्यक्तिगत अहमताको कारण देशमा कम्युनिष्ट पार्टी ध्रवीकृत हुँदै गएकाले कम्युनिष्ट पार्टीको एकताको विकल्प नभएको बताउँदै आएका छन्।
खनालले सार्वजनिक रुपमै कम्युनिष्ट एकताको लागि एमाले र विशेषतः केपी ओलीले पहल गर्नुपर्ने बताउँदै आएका छन्। तर सोही पार्टीबाट विद्रोह गरी एकीकृत समाजवादी निर्माण गरेका नेता खनालले एमालेप्रति लचिलो अभिव्यक्ति दिनुमा पार्टीकै रणनीति रहेको सोही पार्टीका एक पदाधिकारीले बताए।
पार्टीभित्र एक समूह एमालेप्रति कठोर हुँदा खनाल किन उदार भए? भन्ने डिसी नेपालको प्रश्नमा ती पदाधिकारीले भने, ‘पक्कै पनि पार्टीका पुरानो नेता जे.एन कमरेडले बोल्नु भएको कुरालाई सामान्य ढंगबाट हेरिँदैन उहाँको चाहना पनि कम्युनिष्ट एक हुनुपर्छ भन्ने नै हो। तर एउटै पार्टीमा रहेका केही नेता कठोर र केही नेता उदार हुनुमा पार्टीको राजनीतिक रणनीति हो। सबै कुरा खोल्न मिल्दैन। तर पार्टीभित्र एमालेसँग मिल्नुपर्नेमा कुनै दबाव छैन।’
















Facebook Comment