उम्मेदवारको बन्दसूची बुझाएपछि मात्र संसद निष्क्रिय हुने

डिसी नेपाल
१९ साउन २०७९ १६:००
312
Shares

काठमाडौं।मौजुदा प्रतिनिधिसभा र प्रदेशसभा आगामी निर्वाचनका लागि उम्मेदवारका लागि बन्दसूची निर्वाचन आयोगमा बुझाएपछि मात्र निष्क्रिय हुने भएको छ । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाच आगामी ४ मंसिरमा गर्ने निर्णय गरेको छ ।

उक्त निर्वाचनका लागि उम्मेदवारको बन्दसूची बुझाएपछि मौजुदा प्रतिनिधिसभा र प्रदेशसभा निष्क्रिय हुने संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।

‘विगतको अभ्यासअनुसार आगामी निर्वाचनका लागि उम्मेदवारको बन्दसूची बुझाएपछि अहिले प्रतिनिधिसभा र प्रदेशसभा निष्क्रिय हुन्छ,’ प्रवक्ता पाण्डेले भने ।२०७४ सालमा पनि उम्मेदवारको बन्दसूची बुझाएपछि व्यवस्थापिका संसद निष्क्रिय भएको उनको भनाइ छ । यही अभ्यासका आधारमा मौजुदा प्रतिनिधिसभा र प्रदेशसभा पनि उम्मेदवारको बन्दसूची बुझाएपछि निष्क्रिय हुने प्रवक्ता पाण्डेले बताए ।

सरकारले निर्वाचनको मिति घोषणा गरे पनि संसद् सञ्चालनमा भने बाधा नपुग्ने उनको भनाइ छ । पाण्डेले सरकारले नयाँ विधेयक ल्याउन सक्नेदेखि सचिवालयमा दर्ता भएका विधेयक र प्रस्तावमाथि छलफल र पारित गर्न निर्वाचनको मिति घोषणाले बाधा नपुग्ने बताए ।

निर्वाचनको मिति घोषणा भएसँगै संसदको कार्यकाल कहिलेसम्म रहन्छ भन्ने विषयमा विभिन्न मत सार्वजनिक भएको छ ।केही संविधानविद् निर्वाचनको मिति घोषणा भएसँगै संसद् स्वतस् विघटन हुने बताउँछन् । केही भने मनोनयन दर्ता भएपछि मात्र सांसदको कार्यकाल सकिने बताउँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.