सिन्धुपाल्चोक-१ : अग्नि सापकोटा र मोहन बस्नेत को सुरक्षित ?

सम्भव सिंह ठकुरी
२६ साउन २०७९ १२:२७
1.1k
Shares

काठमाडौं। सिन्धुपाल्चोक संघीय निर्वाचन क्षेत्र नम्वर एक सभामुख तथा नेकपा (माओवादी केन्द्र) का नेता एवं सभामुख अग्निप्रसाद सापकोटा र पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको निर्वाचन क्षेत्र पर्दछ।

यो क्षेत्र सापकोटा र बस्नेतको राजनीतिक प्रतिष्ठासँग जोडिएको छ। त्यसैले यहाँ एकले अर्कोलाई सहजै स्वीकार्ने अवस्था छैन। तर आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनमा सत्तागठबन्धनका ५ दल मिलेर निर्वाचनमा होमिने निर्णय गरिसकेका छन्।

सत्तागठबन्धनमा आबद्ध कांगे्रस र माओवादी केन्द्रका दुई प्रभावशाली नेताहरु सापकोटा र बस्नेतको एउटै क्षेत्र परेपछि गठबन्धनबाट टिकट कसले ल्याउँछ भन्ने विषय निकै पेचिलो बनेको छ।

सत्ता गठबन्धनले कांग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजक रहेको ११ सदस्यीय कार्यदल बनाएर छिटो सिट बाँडफाँट गर्न भनिएको छ तर कुनै पनि समयावधि तोकिएको छैन। सिटौला नेतृत्वको कार्यदलले भदौ पहिलो साताभित्र कुन दलले कति सिट पाउने मोटामोटी सहमति गर्ने बताएका छन्।

कार्यदलले टुंग्याउन नसकेका क्षेत्रका भने प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरूले नै सिट बाँडफाँटको टुंगो लगाउने बताइएको छ।

तर सिन्धुपाल्चोकमा आफ्नो सिट सुरक्षित नभए बस्नेतले बिद्रोह गर्ने चेतावनी दिइसकेका छन्। उनले गत असार २८ गते कांग्रेसको केन्द्रीय समितिको बैठकमा गठबन्धनले पार्टीको हित नहुने तर गठबन्धन गर्नै परे आफ्नो सिट सुरक्षित हुनुपर्ने दावी गरेका थिए।

‘गठबन्धन गर्नुस्, मेरो केही भन्नु छैन। मेरो गृह जिल्लामा खेल्ने प्रयास नहोस्। यदि खेल्ने प्रयास भयो भने विद्रोह गर्छु। अग्नि सापकोटालाई छाड्नुभयो भने म विद्रोहका लागि तयार छु,’ बस्नेतले भनेका थिए।

नेता बस्नेत अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा उनै सापकोटासँग सिन्धुपाल्चोक १ मा पराजित भएका थिए। गठबन्धन गर्दा माओवादी केन्द्रको भागबाट सापकोटाले नै टिकट पाउने आकलन गर्दै बस्नेतले पार्टी नेतृत्वसमक्ष दवाब पेश गरेका हुन्।

त्यसैले सापकोटालाई हराएर बस्नेतले ५ वर्ष अघिको बदला लिएलान् वा सापकोटा नै उम्मेदवार बन्लान्? यो विषयलाई निकै चासोका साथ हेरिएको छ। बस्नेत २०७४ को निर्वाचन हारेपछि धेरैजसो समय आफ्नै निर्वाचन क्षेत्र मै बिताइरहेका छन्।

कोरोनाको समयमा स्वास्थ्य सामाग्री बितरण देखि आफ्नो नीजि गाडीलाई समेत ‘एम्बुलेन्स’को रुपमा प्रयोग गर्न दिएर चर्चामा आएका बस्नेत जनताको सेवा गर्दै चुनाव लक्षित कार्यक्रम गर्दै आएका छन्।

केही महिना अघि काठमाडौं महानगरपालिकाको सडकमा मकै पोलेर गुजारा चलाएका सिन्धुपाल्चोकका एक दम्पतीको ठेलागाढा काठमाडौं महागरका प्रहरीले नियन्त्रणमा लिएपछि सो दम्पतीलाई पनि घर मै बोलाएर बस्नेतले आर्थिक सहयोग गरेका थिए।

सापकोटा भने सभामुख भएपछि पदीय जिम्मेवारीका कारण बस्नेतले जस्तो निर्वाचन क्षेत्रमा खटिन पाएका छैनन्। त्यसकारण यी दुई नेताबीचको टिकट ल्याउने प्रतिस्पर्धाको परिदृश्य थप रोचक हुने भएको छ।

तर संयोग के छ भने सापकोटा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रिय पत्र र बस्नेत प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका प्रिय पत्र मानिन्छन्।

२०७४ सालको निर्वाचनमा सापकोटा ४० हजार ५०४ मत प्राप्त गरि विजयी भएका थिए भने बस्नेतले २९ हजार ७९८ मत प्राप्त गरेका थिए।
तर गत बैशाखमा भएको स्थानीय तह निर्वाचनको दलगत मतभारलाई हेर्ने हो भने सबैभन्दा लोकप्रिय मत कांग्रेसको रहेको छ। कांग्रेसपछि नेकपा एमाले र तेस्रो स्थानमा माओवादी केन्द्रको रहेको छ।

निर्वाचन क्षेत्र १ मा पर्ने सात वटा स्थानीय तह रहेकोमा चौतारा साँगाचोकगढी नगरपालिकाको १,२,३,४,९,१० वडाहरु पर्दछन्। यी निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तहहरुमध्ये भोटेकोशी गाउँपालिका, बाह्रविसे नगरपालिका,त्रिपुरासुन्दरी गाउँपालिकाको प्रमुख र उप्रमुख कांग्रेसले जितेको छ।

माओवादीले भने लिसंखु पाखर गाउँपालिका र बलेफी गाउँपालिकाको प्रमुख मात्र जितेको। लिसंखुको उपप्रमुख एमालेले र बलेफीको उपप्रमुख कांग्रेसले जितेको छ।

सुनकोशी गाउँपालिकाको प्रमुखमा एमाले र उपप्रमुख कांग्रेसले जितेको छ। यही निर्वाचन क्षेत्रमा पर्ने चौतरा नगरपालिकाको वडा नम्वर १ मा नेकपा(एकीकृत समाजवादी),वडा नम्वर २ र ३ मा एमाले,४ मा माओवादी, ९ र १० नम्वर वडामा कांग्रेसले जित निकालेको छ।

यसरी प्राप्त मतभारलाई हेर्दा कांग्रेसले ३४ हजार ७६१ मत पाएको छ। एमालेले २७ हजार ५९ मत प्राप्त गरेको छ। र माओवादी केन्द्र भने तेस्रो स्थानमा छ। माओवादीले १९ हजार ३४४, एकीकृत समाजवादीले २ हजार ३११ र राप्रपाले १ हजार २३९ मत ल्याएको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.