एमालेले अब २० वर्षसम्म शासनमा फर्कने आँट नगरे हुन्छ : महेन्द्र यादव

डिसी नेपाल
२६ साउन २०७९ १४:१५
204
Shares

काठमाडाैं। नेपाली कांग्रेसका सह-महामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले अब एमाले २० वर्षसम्म शासनमा नफर्कने दाबी गरेका छन्। आगामी निर्वाचनमा एमालेले एक सिटपनि नजित्ने उनको दाबी छ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘अब २० वर्षसम्म फेरि एमाले शासनमा फर्किन्छु भनेर त्यो आँट नगरे हुन्छ। नेपाली जनताले अब तपाईँहरुलाई शासनमा ल्याउँदैनन्। अब तपाईहरु कहाँ चुनाव जित्नुहुन्छ? स्थानीय तहमा २०० सय सिट त आयो। यदि हाम्रो वडासम्म गठबन्धन गएको भए १० सिट पनि आउँदैन थियो। अबको संसद्को निर्वाचनमा एक सिट आउने सम्भावना छ। केपी ओली जित्ने सम्भावना छ।’

उनले एमालेले राष्ट्रवादको नाममा जनता ठग्ने काम गरेको आरोप लगाए। उनले भने,‘एमालेका साथीहरुलाई म भन्छु–अब राष्ट्रवादको नाममा नेपाली जनता ठग्ने कोशिस नगर्नुहोस । किताब त छाप्नुभयो । किन पुर्याउनुभएन ? स्कुलमा किताब देखिन। तुईन हटाउछु भन्नुभएको थियो, हट्यो त ? तपाईँहरुले परराष्ट्र नीति सन्तुलित पनि बनाउन सक्नुभएन। यो सरकारले छोटो अवधिबाट देशलाई श्रीलंका हुनबाट बचाइदियो।’

उनले नागरिकता विद्येयक पास दुवै सदनबाट भैसकेको र प्रमाणिकरणको लागि राष्ट्रपतिकहाँ पुगेको सुनाउँदै तत्काल प्रमाणिकरण गर्न आग्रह गरे। उनले भने,‘राष्ट्रपतिले अहिलेसम्म विद्येयक प्रमाणिकरण नगरेर रोक्नुभएको छ, यो संविधानतः रोक्न मिल्दैन् । राष्ट्रपतिलाई मौका छ, उहाँ अहिले पनि पार्टीको राजनीतिमा भन्दा माथि उठ्न सक्नुभएको छैन। हामी आशा गर्छौं कि भगवान पशुपतिनाथले बुद्धि दिओस, उहाँ सबैको राष्ट्रपति भएर सफल हुनुहोस। अविलम्ब विधेयक प्रमाणिकरण गर्नुहोस।’

नेता यादवले अहिलेको पाँच दलीय गठबन्धन नेपाली जनताले आवश्यकत्ता महशुस गरेर बनेको सुनाए। उनले भने,‘यो गठबन्धन नेपाली जनताले आवश्यकत्ता बोध गरेर बनेको हो । गठबन्धन आजपनि कायमै छ, भोलि पनि कायम रहन्छ। भोलि पनि यही गठबन्धनको सरकार बन्छ। यसमा जनता ढुक्क हुनुहोस।’

उनले यसअघि जनतामाथि धोका र विश्वासघात गरेको कारण अब केपी ओलीलई अब प्रधानमन्त्री बन्ने नैतिक आधार नै नभएको दाबी गरे। उनले भने,‘अब एमालेबाट प्रधानमन्त्री बन्ने नैतिक आधार छैन, र हुँदै हुँदैन्। उहाँहरुले सरकार चलाउने भनेर ०७४ को निर्वाचनमा पनि पाँच वर्षको लागि जनताबाट म्याण्डेट लिनुभएको थियो, तर, केपी ओलीले तीन वर्ष पनि चलाउन सक्नुभएन। जनतालाई सास्ती दिनुभयो। लोकतान्त्रिक संस्थालाई समाप्त गर्नुभयो । राष्ट्रिय एकता र अखण्डतालाई बोलीबाट धरापमा पार्ने कोशिस गर्नुभयो। जनताले ओली सरकार नहटाएसम्म घर फर्किन्नौं भनेपछि उहाँ हट्न बाध्य हुनुभयो। एकचोटी सफल भैसकेको व्यक्तिलाई अब प्रधानमन्त्री बनाउनुहुन्न।’

उनले १६५ सिटमध्ये आफूहरुको दाबी १०० सिटमा रहेको सुनाए। तर, गठबन्धनभित्र सहमति कायम गर्नको लागि ९० सिटसम्म मान्न सकिने उनको भनाइ छ। उनले गठबन्धनको महत्वपूर्ण घटकको रुपमा रहेको नेकपा (माओवादी केन्द्र) लाई सन्तुष्ट बनाएर गठबन्धनभन्दा बाहिर जान नदिने पनि विश्वास दिलाए। उने भने,‘माओवादीलाई जति दिनुपर्ने हो, त्यो दिन्छौं । हामी माओवादीलाई सन्तुष्ट गरेर हामीभित्रै राख्छौं। कांग्रेस आँफै शक्तिशाली छ। हामी सुध्रिएर नै जनता जोगाएका छौं।’ उनले एमालेलाई लाजै नभएको पार्टीको पनि संज्ञा दिए । यस्तै, महाकाली सन्धि गलत हो भने केपी ओली पनि गलत भएको उनको टिप्पणी थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.