सोलुमा सुरक्षित बलबहादुर, देउवाले अडान नलिए माओवादीको हातमा टिकट
काठमाडौं। मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा भएसँगै प्रदेश एक अन्तर्गत पर्ने सोलुखुम्वुको चुनावी वहसलाई चासोका साथ हेरिएको छ।
नेपाली कांग्रेसका ‘हेभिवेट’नेता बलबहादुर केसीको निर्वाचन क्षेत्र पर्ने भएकाले पनि यहाँको राजनीतिलाई चासोका साथ हेरिन्छ। सोलुका चिया पसलदेखि चोकचौतारामा गठबन्धनबाट कुन दलले र कसले टिकट पाउला भन्ने विषयमा राजनीतिमा चासो राख्ने बीच मात्रै होइन सर्वसधारणमा पनि चासो बढेको छ।
पाँच दलीय सत्ता गठबन्धनले मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गर्ने निर्णयसँगै शीर्ष नेताहरुको टिकट सुरक्षित हुने कि नहुने भन्ने विषयले सर्वसाधारण र मतदाताहरुको ध्यानकेन्द्रित गरिरहेको छ।
८ वटा स्थानीय तह रहेको सोलुमा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ। २०७४ सालको निर्वाचनमा तत्कालीन बामगठबन्धनबाट नेकपा (माओवादी केन्द्र)ले जितेको थियो।
सो निर्वाचनमा माओवादीका नेता हेमकुमार राईले २० हजार ४७४ मत प्रप्त गरि विजयी हुँदा केसीले १७ हजार २ सय ९४ मत प्राप्त गरि पराजित भएका थिए।
तर अहिले स्थानीय तहको दलगत मतलाई आधारमान्दा कांग्रेस सुरक्षित देखिन्छ। जिल्लामा कांग्रेसले सबैभन्दा लोकप्रिय मत प्राप्त गरेको छ। कांग्रेसपछि नेकपा एमाले र तेस्रोमा माओवादीको मत रहेको छ।
अघिल्लो पटक यहाँ बामगठबन्धन थियो। तर अहिले सत्ता गठबन्धनमा कांग्रेस र माओवादीसँगै छ। सत्तागठबन्धनले सिटफाँटका लागि कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल बनाइसकेको छ।
कार्यदलको बैठकमा २०७४ को निर्वाचनमा जुन दलले जितेको अहिले सोही दलले लिने र एमालेले जितेको स्थानहरुमा गठबन्धन गर्नु पर्ने माओवादीले माग गरिरहेको छ। यही आधारलाई मान्ने हो भने कांग्रेसले सोलुको प्रतिनिधिसभा क्षेत्र गुमाउनुपर्ने हुन्छ। तर यो विषयमा कांग्रेसले भने स्थानीय तहको मतको आधारमा भागबण्डा गर्नु पर्ने नीति लिएको छ। त्यसैले पनि यो विषयमा अहिलेसम्म नीतिगत निर्णय हुन सकेको छैन।
कस्तो छ दलगत मतभार ?
सोलुमा एउटा नगरपालिका र ७ वटा गाउँपालिका सहित जम्मा ८ वटा स्थानीय तहहरु छन्। ८ मध्ये दुधकुण्ड नगरपालिकाको मेयर,उपमेयरसहित ४ वटा गाउँपालिकाको प्रमुख,उपप्रमुख कांग्रेसले जितेको छ। एमालेले २ वटा स्थानीय तहको प्रमुख र एउटा स्थानीय तहमा उपप्रमुख जितेको छ। त्यस्तै माओवादी एउटा प्रमुख र २ वटा उपप्रमुख जितेको छ।
जम्मा ५१ वटा वडाहरु रहेको यो जिल्लामा गत बैशाखमा भएको स्थानीय तह निर्वाचनको वडामा खसेको दलीय मतभारलाई हेर्दा कांग्रेसले १८ हजार ५ सय ३९ मत प्राप्त गरेको छ। त्यस्तै एमालेले १६ हजार १ सय १० र माओवादीले १२ हजार ९ मत प्राप्त गरेको छ।
पालिकागत मत भार
यो जिल्लामा खुम्वु पासाङल्हमु गाउँपालिका, माप्य दुधकोशी गाउँपालिका, थुलुङ दुधकोशी गाउँपालिका, नेचासल्यान गाउँपालिका, महाकुलुङ गाउँपालिका, लिखु पीके गाउँपालिका, सोताङ गाउँपालिका र सोलु दुधकुण्ड नगरपालिका रहेका छन्।
अब चर्चा गरौँ खुम्वु गाउँपालिकाबाट यहाँको पालिका प्रमुख, उपप्रमुखसहित वडाहरुमा एमालेको लोकप्रिय मत रहेको छ। जम्मा ५ वटा वडा रहेको यो गाउँपालिकामा एउटा वडा कांग्रेसले र बाँकी चार वटा वडा एमालेले जितेको छ। यहाँ माओवादी तेस्रो स्थानमा रहेका छन्। यहाँ कांग्रेसले १५ सय ५१ एमालेले १९ सय ७९ र माओवादीले २५३ मत प्राप्त गरेको छ।
माप्य दुधकोशी गाउँपालिका
यहाँको पालिका प्रमुख एमाले र उपप्रमुख माओवादीले जितेको छ। ७ वडा वडा रहेको यो गाउँपालिकामा २ वटा वडामा कांग्रेस, ३ वटा वडामा एमाले र २ वटा वडामा माओवादीले जितेको छ। यहाँको वडामा खसेको दलीय मतभार हेर्दा यो गाउँपालिकामा पनि एमालेको लोकप्रिय मत रहेको छ। यहाँ एमालेले ३२ सय ४७, कांग्रेसले १८ सय ९१ र माओवादीले १२ सय ३१ मत प्राप्त गरेको छ।
थुलुङ दुधकोशी गाउँपालिका
९ वटा वडा रहेको यो गाउँपालिकामा पालिका प्रमुख र उपप्रमुख सहित ५ वटा वडा माओवादीले जितेको छ। यहाँ माओवादीको लोकपप्रिय मत देखिएको छ।
यहाँ एमालेले तेस्रो मत पाएको छ। यहाँ माओवादीले ३ हजार ९ सय ३०,कांग्रेसले ३ हजार ५ सय ५१ र एमालेले १ हजार ६ सय ६४ मत प्राप्त गरेको छ।
नेचासल्यान गाउँपालिका
५ वटा वडा रहेको यो गाउँपालिकाको प्रमुख,उपप्रमुख सहित ३ वटा वडामा जित निकाल्दै कांग्रेसले लोकप्रिय मत प्राप्त गरेको छ।
कांग्रेसपछि एमाले र तेस्रो मत माओवादीले प्राप्त गरेको छ। कांग्रेसले २ हजार ४ सय ९३, एमालेले २ हजार २७ र माओवादीले १ हजार ५ सय मत प्रापत गरेको छ।
महाकुलुङ गाउँपालिका
५ वटा वडा रहेको यो गाउँपालिकाको प्रमुख, उपप्रमुख कांग्रेसले जितेको छ। वडामा भने ३ वटा वडामा एमाले र २ वटा वडामा कांग्रेसले जित निकालेको छ।
तर लोकप्रिय मत भने कांग्रेसको नै रहेको छ। कांग्रेसले २ हजार १ सय ४८, एमालेले १ हजार ४ सय ८० र माओवादीले १ हजार ५ सय ६५ मत प्रापत गरेको छ।
लिखु पीके गाउँपालिका
यहाँको मतभार रोचक रहेको छ। ५ वटा वडा रहेको यो पालिकाको प्रमुख, उपप्रमुख सहित तीन वटा वडामा कांग्रेसले एउटामा एमाले र एउटा वडामा स्वतन्त्रले जित निकालेको छ। माओवादीले भने कुनै पनि वडाध्यक्ष जितेको छैन। तर लोकप्रिय मत भने माओवादी कै रहेको छ।
माओवादीले १ हजार ५२ मत प्राप्त गर्दा कांग्रेसले १० हजार ५० र एमालले ६ सय ५५ मत प्राप्त गरेको छ।
सोताङ गाउँपालिका
५ वटा वडा रहेको यो पालिकाको प्रमुख, उपप्रमुख सहित तीन वडा वडामा जित निकाल्दै कांग्रेसको लोकप्रिय मत रहेको छ। २ वटा वडामा भने एमालेले जित निकालेकालेको छ।
यहाँ कांग्रेसले १ हजार ७ सय ५७, एमालेले १ हजार ४ सय ८७ र माओवादीले १ हजार ३ सय ६ मत प्राप्त गरेको छ।
सोलु दुधकुण्ड नगरपालिका
जिल्लाको सबैभन्दा धेरै मतदाता भएको र एउटा मात्र नगरपालिका रहेकाले यो स्थानीय तहको राजनीतिले महत्वपूर्ण अर्थ राख्दछ। र यहाँको मत पनि चुनावको बेला निकै निर्णायक हुने पनि गरेको छ।
यो स्थानीय तहको मत परिणामा हेर्दा पनि कांग्रेसको मत निकै लोकप्रिय देखिएको छ। जम्मा १० वटा वडा रहेको यो पालिकाको प्रमुख, उपप्रमुख सहित ५ वटा कांग्रेसले जितेको छ। तीन वटा वडामा एमालेले जित निकालेर दोस्रो र एउटा वडामा जित निकाल्दै माओवादीको मत तेस्रो रहेको छ।
यहाँ कांग्रेसले ४ हजार ९५ मत,एमालेले ३ हजार ५ सय ७२ र माओवादीले १ हजार १ सय ७२ मत प्राप्त गरेको छ।
गठबन्धनबाट टिकट कसले पाउला ?
अहिले सोलुको राजनीतिमा मात्र नभएर देशभरिका कांग्रेसका ‘हेभिवेट’ नेताहरुले अघिल्लो निर्वाचनमा पराजित भएका कारण टिकट कुन दल र कुन व्यक्तिले पाउने भन्ने विषय निकै सकस बनेको छ।
गठबन्धनले कांग्रेस नेता सिटौलाको संयोजकत्वमा कार्यदल गठबन गरेपनि भागबण्डा मिलाउन निकै सकस परेको देखिन्छ। अब चर्चा गरौँ सोलु कै कांग्रेस नेता बलबहादुर केसी बहुदल यताको सबै संसदीय निर्वाचनमा सोलुबाट नै उम्मेदवार बन्दै आएका छन्।
६ पटकसम्म संसदीय निर्वाचनमा उम्मेदवार भइसकेका केसी २०४८,०५१,०५६ र ०७० सालको निर्वाचनमा विजयी भएका र ०६४ र ०७४ सालको निर्वाचनमा भने पराजित भएका थिए। उनी अब सातौँ पटक उम्मेदवार बन्ने तयारीमा छन्।गठबन्धनले बनाएको कार्यदलबाट सोलुखुम्वु कांग्रेसको भागमा पर्नुपर्ने केसीको माग रहेको छ।
सोलुखुम्बु कांग्रेसबाट कुन व्यक्तिले टिकट पाउने भन्दा पनि पहिले त उक्त निर्वाचन क्षेत्र कांग्रेसले पाउनुपर्ने र त्यसपछि कांग्रेसको उम्मेदवारको विषयमा छलफल गर्नुपर्ने केसीको भनाइ छ।
‘अहिले कसस्ले टिकट पाउने भन्दा पनि प्रधान कुरा सोलुखुम्बु कांग्रेसले पाउनुपर्छ भन्ने मेरो भनाइ हो,’ केसीले भने, ‘मलाई लाग्छ गठबन्धनले बनाएको कार्यदलले सोलु कांग्रेसलाई नै दिने निर्णय गर्छ र त्यसपछि सभापतिजीले टिकट मलाई दिनुहुन्छ भन्नेमा विश्वस्त छु।’
पार्टीले टिकट दिए सानदार ढंगबाट निर्वाचन जित्ने पनि उनको दावी रहेको छ।
















Facebook Comment