भीआइपी कक्षको दुरुपयोगः ठगी आरोपीलाई मुस्लिम आयोगकै अध्यक्षले भगाए
काठमाडौँ। मुस्लिम आयोगका अध्यक्षको मिलेमतोमा ठगी आरोपी विमानस्थलको भीआइपी कक्षबाट फरार भएको छन्।
अभियुक्त संयुक्त अरब इमिरेट्स (दुबई) बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरी भीआईपी कक्षमा आएका सुनसरीका ३० वर्षीय रिजवान आलमलाई आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले शुक्रबार भीआईपी कक्षबाट भगाएका हुन्। ठगीको आरोपमा प्रहरीको फरार सूची रहेका र अध्यागमनको कालोसूचीमा परेका उनलाई लिन आयोगका अध्यक्ष आफै विमानस्थलमा पुगेका थिए।
दुबईबाट आएका आलमलाई लिन मुस्लिम आयोगका अध्यक्ष अन्सारी भीआईपी कक्ष गएका थिए। तर, आलमको राहदानी कालोसूचीमा परेको भेटिएपछि अध्यागमनले प्रहरीलाई खबर गरेको थियो। सुरक्षाकर्मीले नियन्त्रण लिन नपाउँदै भीआईपी कक्षको ढोकाबाटै भागेर उनी सम्पर्कविहीन भएको स्रोतले जनाएको छ।
अन्सारीसँगै राहदानी जाँच नगराई आलम भीआईपी कक्षमा प्रवेश गरेका थिए। आलमको खोजी गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले काठमाडौं उपत्यका अपराध अनुसन्धान अनुरोध गरेको छ। आलमसहित तीन जनाविरुद्ध दाउद हुसेनले गत कात्तिकमा आलमविरुद्ध १ करोड ६८ लाख रुपैयाँ ठगी गरेको कसुरमा कारबाहीका लागि प्रहरीमा उजुरी दिएका थिए।
आलमले हुसेनका छोरालाई दुबईमा पाइलट कोर्स गराइदिने भनेर उक्त रकम लिएका थिए। तर, कोर्स गर्न नपाएपछि आफू आलमबाट ठगिएको भन्दै हुसेनले प्रहरीमा जाहेरी दिएका थिए। काठमाडौं प्रहरी परिसरले २०७८ चैत १० मा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयलाई पत्र लेखी कालोसूचीमा राख्न आग्रह गरेको थियो।
अध्यागमन कार्यालयले रिजवानको ०६३२४१२२ नम्बरको पासपोर्ट चेक गर्दा उनी ‘कालोसूची’मा रहेको खुलेको थियो। तर, पासपोर्टमा ‘अराइभल’ छाप नलाग्दै अध्यक्ष अन्सारीले उनलाई आफ्नै गाडीमा राखेर विमानस्थलबाट भगाएका थिए।
रिजवानलाई पक्राउ गर्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)लाई समेत आग्रह गरिएको थियो। उनलाई भगाएको विषयमा नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले अनुसन्धान गरिरहेको र खोजी कार्य गरिरहेको महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले बताए।







डिसी नेपाल








Facebook Comment