निर्वाचनका लागि जीटुजीमार्फत किन्ने भनिएको गाडी अन्ततः टेन्डरबाटै किन्ने प्रक्रिया सुरु
काठमाडौं। निर्वाचन सुरक्षा प्रयोजनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले जिटुजी (सरकार-सरकार) मार्फत खरिद गर्ने भनिएको २ सय ४० गाडी अन्ततः टेण्डर मार्फत खरिद गर्न लागेको छ।
गृहमन्त्रालयले जिटुजीको प्रकृया पूरा गर्न समय लाग्ने भएकाले टेण्डरमार्फत खरिद गर्न निर्देशन दिएपछि व्यापारिक फर्म मार्फत नै खरिद प्रकृया शुरु गरेको छ। सो प्रकृया मार्फत नेपाल प्रहरीले १८० र सशस्त्र प्रहरीले ६० वटा गाडी किन्ने भएका छन्।
निर्वाचनपहिले नै खरिद गरिसक्ने गरी दुवै सुरक्षा निकायले टेन्डर आह्वान समेत गरिसकेका छन्। ‘अहिलेलाई व्यापारिक फर्म मार्फत खरिद गर्न निर्दैशन आयो त्यही अनुसार सूचना प्रकाशन भैसकेको छ’, नेपाल प्रहरीका एक उच्च अधिकारीले भने। उनका अनुसार जिटुजी मार्फत ल्याउदा कम लागत पर्ने भएपनि मन्त्रालयले यो प्रकृयामा रुची देखाएन।

अर्थ मन्त्रालयले नेपाल प्रहरीलाई गाडी खरिदका लागि ७५ करोड रकम छुट्याएको छ। अर्थले नै प्रतिगोटा ५० लाखमा नबढ्ने गरी खरिद गर्न अनुमति दिएपछि प्रहरीले सोही अनुसार टेन्डर आह्वान गरेको छ।
प्रहरीले १५ दिने सूचना जारी गर्दै खरिद प्रक्रियाका लागि आवेदन माग गरेको हो। नेपाल प्रहरीले दुई प्रकारका गाडी खरिद गर्ने भएको छ। प्रहरीले ५० लाख रुपैयाँ गोटाका ८० वटा र ३५ लाख रुपैयाँका दरले १०० वटा गाडी खरिदका लागि सूचना जारी गरेको छ। ‘गाडी खरिद प्रकृया अघि बढेको छ’, प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राइले भने।
सशस्त्र प्रहरीले पनि ६० वटा गाडी निर्वाचनअघि नै खरिद गरिसक्ने भएको छ। सरकारले सशस्त्र प्रहरीलाई गाडी किन्न २५ करोड रुपैयाँ दिएको छ। नेपाल प्रहरीकै मापदण्डका गाडी किन्न सशस्त्रलाई पनि भनिएको छ।
सोही अनुसारको खरिद प्रकृया अघि बढेको हो। सशस्त्र प्रहरीले ५० लाखका दरले २५ वटा र ३५ लाख दरका ३५ वटा गाडी खरिद गर्ने भएको छ । यसका लागि सशस्त्रले पनि सूचना निकालिसकेको छ।
खरिद गर्ने कम्पनीले नै गाडीमा प्रहरीका लागि आवश्यक रंगरोगन र अन्य सबै सामान जडान गर्नु पर्ने सो सूचनामा उल्लेख छ । त्यसैगरी गृह मन्त्रालयले २५ वटा गाडी किन्ने भएको छ। गृहले ५० लाख रुपैयाँ प्रतिगोटाका गाडी किन्न लागेको स्रोतको दावी छ।
नेपाल प्रहरीले साढे ६ सय गाडी खरिद गर्नका लागि बजेट माग गरेको भए पनि अर्थले माग गरेजति बजेट नदिएपछि १ सय ८० मा खुम्चिएको थियो। हरितयार खरिद प्रकृया विवादमा आएपछि प्रहरीले गाडी खरिद प्रकृयामा विवाद मुक्त हुन चाहेको थियो । तर मन्त्रालयले यो विषयमा ध्यान नदिएको र टेण्डर प्रकृया शुरु गर्न निर्देशन दिएपछि सूचना निकालेको जनाएको छ।
मन्त्रालयले पनि खरिद प्रकृया अघि बढाइसकेको छ। मन्त्रालयका धेरै जसो गाडीहरु मन्त्रीलाई दिनुपर्ने भएपछि त्यहाँ अभाव देखाएर खरिद गर्न लागिएको हो। ‘यहाँका धेरै जसो गाडीहरु विशिष्ट व्यक्तिलाई पठाउनु पर्ने भएपछि भनेजति गाडी छैनन त्यही कारण पनि गाडी खरिद गर्न लागिएको हो’, मन्त्रालय स्रोतले भन्यो।







डिसी नेपाल








Facebook Comment