लाखौंको विचल्ली पार्ने दागोलाई अन्तत जापानको सम्मान, सुन्नै चाहेन विरोध
कठमाडौं। दक्षिण एशियामै मानवअधिकार विरोधी एवं लाखभन्दा बढीलाई विचल्ली बनाएको आरोप लागेका भुटानका पूर्व गृहमन्त्री दागो छिरिङलाई चर्को विरोधका वाबजुद जापान सरकारले आफ्नो देशको प्रतिष्ठित अवार्डले सम्मान गरेको छ।
जपान सरकारका तर्फबाट भुटानका लागि जापानी राजदूत सातोषी सुजकीले “राइजिङ सन गोल्ड एण्ड दी सिल्भर स्टार” नामक सो सम्मान भुटानको थिम्पुस्थित ड्रुक होटलमा सेप्टेम्बर ६ तारिक मंगलबार आयोजित एक विशेष कार्यक्रममा हस्तान्तरण गरेका थिए।
दागोलाई यो सम्मान दिनेबारे जापानले गतबर्ष नै घोषणा गरेको थियो। तर उसको यो निर्णयको संसारभरबाट व्यापक विरोध भएपछि हालसम्म हस्तान्तरण हुन सकेको थिएन। अन्तत जापान सरकारले ती विरोधका स्वरहरुलाई सुनेन र मानवताविरोधी गम्भीर अपराधमा संलग्न भए पनि आफ्नो देशको प्रतिष्ठित अवार्डले दागोलाई सम्मान गर्ने आफ्नो निर्णयको कार्यन्वयन गरिछाड्यो।
दागो भुटानको गृहमन्त्री भएका बेला दक्षिणी भुटानमा बसोबास गर्ने नेपाली मूलका लाखभन्दा बढी भुटानी नागरिकहरुलाई देश छाड्न बाध्य पारिएको थियो। उनीहरुलाई आफ्नो चाडबाड मान्न अवरोध गर्नेदेखि आफ्नो पुर्खाको भेष लगाउन र भाषा बोल्नसमेत बन्देज लगाइएको थियो।
भुटानमा राजशाहीविरोधी प्रजातान्त्रिक आन्दोलन शुरु भएका बेला सो आन्दोलनसंग जोडेर लाखभन्दा बढी नेपाली भाषी भुटानी नागरिकहरु लखेट्ने मुख्य योजनाकार यिनै दागो छिरिङ थिए। त्यस्ता मानवताविरोधी अपराध गर्ने व्यक्तिलाई जापानजस्तो सुसंस्कृत देशले सम्मान दिने निर्णय गर्नले संसारभरका मानवअधिकारवादीहरुलाई आश्चर्यमा पारेको थियो।
‘वान नेशन वान पिपुल’को कार्यक्रम ल्याएर आफूले मान्दै आएको धर्म संस्कृति, चाड बाड र लगाउँदै आएको पोशाक तथा बोल्दै आएको भाषाबाट वेदखल गरी आधारभुत मानवअधिकार खोस्ने कार्यको नेतृत्व गर्ने दागोका विरुद्ध जापान सरकारलाई सचेत गराउन हजारौंको संख्यामा हस्ताक्षर संकलन पनि गरिएको थियो।
गत वर्ष यो निर्णय सार्वजानिक भएपछि भुटानबाट जवर्जस्ती लखेटिएर नेपालका विभिन्न क्याम्प हुँदै अमेरिका, क्यानडा र युरोपका विभिन्न मुलकमा पुनर्वास गराइएका नेपालीभाषी भुटानीहरुले दागोलाई सम्मान नगर्न जापान सरकारलाई आग्रह गर्दै संसारभर हस्ताक्षर अभियान नै चलाएका थिए।
उनीहरुले आफ्नो हस्ताक्षर अभियानबारे सार्वजानिकरुपले जापान सरकारलाई जानकारी पनि गराएका थिए। “यो निर्णयबाट हामी दुखी छौं”, ‘पुनर्वासको कार्यक्रमअन्तर्गत अमेरिकामा स्थायी बासोवास गर्दै आएका रेनल्स्वर्ग सिटी काउन्सिल ओहायो अमेरिकाका सिटी काउन्सिल मेम्बर भुवन प्याकुरेलले डिसी नेपालसँग भने,‘ भुटानको दक्षिण भेगमा बस्ने भुटानीहरुलाई देश निकाला गर्ने, मानवताविरोधी कार्य गर्ने मुख्य व्यक्तिलाई सम्मान गरेर जापान सरकारले मानवअधिकारप्रति अपमान गरेको सन्देश दिएको छ।’
‘वान नेशन वान पिपुल’को कार्यक्रम ल्याएर आफूले मान्दै आएको धर्म संस्कृति, चाड बाड र लगाउँदै आएको पोशाक तथा बोल्दै आएको भाषाबाट वेदखल गरी आधारभुत मानवअधिकार खोस्ने कार्यको नेतृत्व गर्ने दागोका विरुद्ध जापान सरकारलाई सचेत गराउन हजारौंको संख्यामा हस्ताक्षर संकलन पनि गरिएको थियो।
तर जापानले दागोद्वारा पीडित लाखभन्दा बढी नेपालीभाषी भुटानी र संसारभरका हजारौं हस्ताक्षरकर्ता मानवअधिकारवादीहरुको आग्रह र दवावलाई वेवास्ता गरिदिएको छ। यिनको कार्यकालमा हजारौं पक्राउ परेका, सयौंलाई जेलमा कोचिएको र थुप्रै चेलीबेटीलाई त्यहां परिचालित भुटानी सेनाले बलात्कार गरेर आतंक सिर्जना गरिएको थियो।
तर, जापानले भने आफ्नो मुलक र भुटानका बीच सम्बन्ध सुमधर बनाउन दागोले योगदान दिएको भन्दै सम्मान गरेको हो । यसरी उच्च तहको जापानी सम्मान पाउने दागो पहिलो भुटानी नागरिक हुन्। उनी जापानका लागि राजदूत पनि भएका थिए।







डिसी नेपाल








Facebook Comment