दुई वडाबाट दुई करोडको मुला निर्यात
पाँचथर। जिल्लाको फिदिम नगरपालिकाका २ वटा वडाबाट यो सिजनमा २ करोड रुपैयाँको मुला निर्यात भएको छ। इलामको पशुपतिनगर र रक्सौल नाकाहुँदै यहाँ उत्पादन भएको मुला भारत पुगेको हो।
फिदिम- ३ र ८ वडाका करिव ५ सय जना किसानले मुला खेति गरेर यो सिजनमा २ करोड रुपैयाँ भित्र्याएको सिलौटी साना किसान कृषि सहकारी समूहका प्रवन्धक महेन्द्रप्रसाद लुइटेलले बताए। उनका अनुसार यो समूहमा ९० प्रतिशत महिलाले मुला खेति गरेका छन्।
स्थानीय कान्छीदोगान, सुम्निमाचोक, पौवाभञ्ज्याङसमेतका गाउँमा अहिले मुला खन्ने र बेच्ने चटारो नै छ। सहकारीका अध्यक्ष गंगा राईका अनुसार किसानलाई तालिम दिएर मुलाको बीउमा ५० प्रतिशत अनुदान दिएपछि कृषकहरु मुला खेतीमा आकर्षित भएका हुन्।
प्रतिकिलो १५ रुपैयाँ दरमा मुला बारीमै लिन व्यापारीहरु आउने गरेका छन्। यो क्षेत्रमा मुला खेती बिस्तारका लागि सहकारीले बजारको सहजीकरण गर्दै आएको छ। स्थानीय बुद्धबीर, महेन्द्र, नरबहादुर, राजकुमारी र उमादेवि मुखियासमेतका कृषकले वर्षेनी मुलाबाट ४/५ लाख रुपैयाँ भित्र्याउने गरेको बताए।
उनीहरुका अनुसार व्यापारीहरु मुला बारीमै खरिद गर्न आउने गरेकोले बजारको समस्या छैन । त्यसै भएर पनि मुला खेतीतर्फ उनीहरु आकर्षित भइरहेको अध्यक्ष राईको भनाइ छ।















Facebook Comment