भूमिसम्बन्धी नीति बनाउने एमालेको निर्णय

डिसी नेपाल
२४ भदौ २०७९ १४:३४
124
Shares

काठमाडौँ। एमाले केन्द्रीय भूमि व्यवस्था विभागले भूमिसम्बन्धी नीति निर्माण गर्ने भएको छ। विभागको बिहीबार बसेको बैठकले वार्षिक कार्ययोजना पारित गर्दै भूमि नीति निर्माणका लागि भूमिसम्बन्धी विज्ञहरूसहितको कार्यशाला गोष्ठी आयोजना गर्ने निर्णय गरेको छ।

बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले समसामयिक राजनीति र पार्टीको आगामी कार्यभार तथा विभागको काम, कर्तव्य र अधिकारका बारेमा निर्देशनात्मक सम्बोधन गरेका थिए।

महासचिव पोखरेलले विभागका सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए। विभागका उपप्रमुख भीम कार्कीको अध्यक्षतामा बसेको बैठकले वार्षिक कार्ययोजनाको प्रमुख कामका रूपमा भूमिसम्बन्धी नीतिपत्र तयारी र प्रकाशनलाई लिएको छ । बैठकले भूमिसम्बन्धी विषयमा प्रशिक्षण सञ्चालन गर्ने भएको छ।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको पालामा सरकारले गठन गरेको भूमिसम्बन्धी आयोगले गरेका कामको अभिलेख तयार गरी तिनलाई जनतासम्म पुर्याउने योजना विभागले बनाएको छ।

त्यसैगरी, वर्तमान गठबन्धन सरकारले भूमिसम्बन्धी गरेका कामको पनि अध्ययन गरी अभिलेख तयार गर्ने भएको छ। बैठकले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका सन्दर्भमा पार्टीले तयार गर्ने घोषणापत्रका लागि सुझाव प्रस्तुत गर्ने निर्णय गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.