लाखौंको रातोमाटोको व्यापार
पाँचथर। सदरमुकाम फिदिम बजारबाट वर्षेनी करोडबढीको रातोमाटो किनबेच हुने गरेको छ। फिदिमको चारखम्बे र तुम्देन चोकमा संकलन गरेको रातोमाटो घर लिपपोत गर्न किनबेच भइरहेको हो। दैनिक करिव १ सय बोरा माटो बिक्री हुने ब्यापारीहरुको भनाइ छ।
२५ किलोको बोरामा भरेको माटो १ सय रुपैयाँ दरमा बिक्री हुनेगरेको उशा लावतीले बताइन्। उनका अनुसार माटो संकलन गर्नेलाई प्रतिबोरा २५ रुपैयाँ दिने गरेकोछ। खालि बोरा २० रुपैयाँमा खरिद गर्ने र माटो भरेपछि प्रतिबोरा ५५ रुपैयाँ फाइदा हुने व्यापारी विरेन्द्र जबेगुले बताए।

यहाँ संकलन गरेको माटो झापा, इलाम र ताप्लेजुङसम्म पुग्ने गरेको छ। ‘प्रायः दशैं र तिहारको समयमा माटो बढी बिक्छ।’ अर्का व्यापारी कृष्ण खवासले भने। फिदिमको पहिचान नै रातो माटो हो। घर घडेरी सम्याउँदा निस्कने माटोलाई ढुंगाहरु छानेर बोरामा भर्दै बिक्रीका लागि राखिन्छ । ताप्लेजुङ र उच्च पहाडमा रातोमाटो कम पाइन्छ । त्यही भएर फिदिम आवतजावत गर्नेहरु यहीँदेखि माटो लिएर घर फर्कन्छन् ।
‘घर लिपपोत गर्दा इनामेलको पनि प्रयोग गरिन्छ, तर इनामेल महंगो हुनाले मध्यमस्तरसम्मका परिवार रातोमाटो कै प्रयोग गरेर घरमा रंङरोकन गर्छन् ,’ एक व्यापारी भन्छन्।

भदौदेखि कात्तिकसम्म माटोको कारोबार अधिक हुन्छ। चाडपर्वको समयमा घरमा चुना, इनामेल लगाउने चलनछ । यही समयमा माटोको खपत बढी हुने लावतीले बताइन्। चारखम्बे र तुम्देन चोकमा वर्षभरि नै माटो किनबेच भइरहन्छ । जसबाट ५–७ परिवारको गुजारा चलेको छ भने माटो संकलन गरेर दर्जनबढीले रोजगार पाइरहेका छन् ।















Facebook Comment