संविधानको रक्षा गर्न प्रतिबद्ध छौँः मुख्यमन्त्री पाण्डे

डिसी नेपाल
४ असोज २०७९ ०:००
12
Shares

बाग्मती । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुलुकमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्दै त्यसको पूर्ण पालना गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ को अवसरमा प्रदेश सरकारले हेटौँडामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

मुख्यमन्त्री पाण्डेले नेपाली जनताको त्याग, तपस्या र बलिदानीबाट २०७२ मा जारी संविधानले सङ्घीय संसद्मा दुई सदनात्मक व्यवस्था, प्रदेशमा एक सदनात्मक र स्थानीय तहमा प्रतिपक्षीरहित व्यवस्थाको स्थापना गरेको बताए । उनले सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालत तथा स्थानीय तहमा न्यायिक समिति निर्माण गरी न्यायमा सबै जनताको सर्वसुलभ पहुँच स्थापना भएको उनले जनाए ।

संविधानले प्रदान गरेको अधिकार अझै स्थापित हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै संविधानलाई अक्षरशः कार्यान्वयनको चरणमा लैजान सके मुलुकमा विद्यमान अस्थिरता हटेर जाने उनको भनाइ छ । प्रदेश सरकारले सबै जातजाति, भाषाभाषी, वर्ण, लिङ्ग, पेसा, सम्प्रदायलाई समेटेर अघि बढ्ने गरी नीति निर्माण गरेको उनले बताए । मकवानपुर, धादिङ र चितवनमा बसोबास रहेको सीमान्तकृत चेपाङका लागि विशेष क्षेत्र घोषणा गरिएको र भदौ २२ गते न्वागी पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरी सो समुदायको सम्मान गरिएको मुख्यमन्त्री पाण्डेले उल्लेख गरे ।

संविधान दिवसका अवसरमा हेटौँडामा झाँकीसहितको र्‍यालीले बजार परिक्रमा गरेको थियो भने कार्यक्रममा विभिन्न जातजाति वेषभूषा झल्कने नृत्य प्रस्तुत गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.