गृहसचिव सिंह पुगे प्रहरी प्रधान कार्यालय
काठमाडौं । गृहसचिव विनोदप्रकाश सिंह आज बिहीवार नेपाल प्रहरी प्रधान कार्यालय पुगेका छन् । कार्यालयको निरीक्षण गर्नका लागि उनी त्यहाँ पुगेका हुन् । निरीक्षणका क्रममा उनले प्रहरी कर्मचारीहरूलाई निर्देशन पनि दिएका छन् ।
निरीक्षण भ्रमणका क्रममा गृह सचिव सिंहले प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याब, पोलिग्राफ शाखा र कमाण्ड सेन्टरको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिए । निरीक्षणपश्चात उनले उपस्थित प्रहरी अधिकृत तथा जवानहरू एवं भिडियो कन्फेरेन्सबाट सहभागी ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूलाई सम्बोधन गरेका थिए ।
सम्बोधनका क्रममा गृहसचिव सिंहले संगठनको हित र सुधारको लागि प्राप्त हुने सुझावलाई आफूले गम्भीरतापूर्वक लिई कार्यान्वयनको लागि प्रयास गर्ने बताए । उनले संगठनको उद्देश्य र लक्ष्य हासिल गर्न सबै प्रहरी कर्मचारीहरू ऐक्यबद्ध भई प्रतिबद्ध र लगनशील हुन आग्रह गरे । आत्महत्या, महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाप्रति राज्य अत्यन्तै संवेदनशील रहेको बताउँदै त्यस्ता हिंसा न्यूनीकरणको लागि थप प्रभावकारी भूमिका निर्वाह गर्न उनले निर्देशन दिए ।
गृहसचिव सिंहले प्रहरी कर्मचारीहरुले उच्चआचरण एवं इमान्दारीपूर्वक सांगठनिक प्रतिबद्धतामा अविचलित भई जिम्मेवारी बहन गर्न निर्देशन दिए । उनले नेपाल प्रहरी संगठनको सुदृढीकरण र शुद्धीकरणमा गृह मन्त्रालय सदैव दृढ संकल्पित रहेको बताए । नेपाल सरकारबाट हुने निर्णयहरू र गर्नुपर्ने सहजीकरणमा समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले प्रहरी कर्मचारीको मनोबल वृद्धिका लागि सरूवा, बढुवा र वृत्ति विकास जस्ता विषयलाई स्वच्छ, निष्पक्ष, पूर्वानुमान योग्य बनाउन जरूरी रहेको बताए ।
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले गृहसचिवबाट प्राप्त निर्देशनलाई संगठनले पूर्णरूपमा ऐक्यबद्ध भई अक्षरस पालना गरी नतिजा दिने प्रतिवद्धता व्यक्त गरे । स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरीले उत्कृष्ट रूपमा जिम्मेवारी बहन गरी सरकारबाट प्रशंसा पाएको स्मरण गर्दै प्रहरी महानिरीक्षक सिंहले आउँदो निर्वाचनलाई स्वच्छ, भयरहित र नागरिकले आफ्नो अधिकार प्रयोग गर्ने वातावरण बनाई सुरक्षा योजना अनुरूप सबै प्रहरी कर्मचारीहरूले मन, वचन र कर्मले ऐक्यबद्ध भई जिम्मेवारी बहन गर्ने उल्लेख गरे ।







डिसी नेपाल








Facebook Comment