प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता समय सकियो, आफैँ उपस्थित हुन नसकेकाले वारेस मार्फत पनि उम्मेदवारी दर्ता

डिसी नेपाल
२३ असोज २०७९ १८:०७
52
Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि आइतबार उम्मेदवारी दर्ता गराएको छ ।

आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको थियो । देशभरका मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाएको थियो । त्यस्तै आयोगले हालै आएको बाढी पहिरो जस्ता प्राकृतिक विपदका कारण आवतजावतमा कठिनाइ भएमा केन्द्रीय निर्वाचन आयोगको कार्यालयमा उम्मेदवारी दर्ता गराउन सक्ने व्यवस्था गरेको थियो ।

सोही अनुरुप नेकपा एमालेका केन्द्रीय सदस्य दल रावलले हुम्लाबाट प्रतिनिधि सभाका लागि मनोनयन दर्ता गराएका छन् । रावलले आइतबार दिउँसो केन्द्रीय निर्वाचन आयोगको कार्यालयमा गएर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । वाम गठबन्धनका तर्फबाट ०७४ मा हुम्लाबाट प्रदेश सभा निर्वाचन लडेका रावल यो पटक भने प्रतिनिधि सभाको लागि मनोनयन दर्ता गराएका हुन् । रावलको प्रतिस्पर्धीको रूपमा सत्ता गठबन्धनका तर्फबाट माओवादीका छिरिङ डम्डुल लामा कार्चेन उम्मेदवार बनेका छन् ।

आइतबार दिउँसो २ बजे हुम्ला पुगेर मनोनयन दर्ता गर्ने भनिए पनि मौसमको प्रतिकूलताका कारण निर्वाचन आयोगको कार्यालयबाट मनोनयन पत्र दर्ता गराएको रावलले बताए ।

त्यस्तै नेपाली कांग्रेसका महासमिति सदस्य राजेन्द्र बजगाईंले पनि आयोगबाटै गोरखा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभातर्फ उम्मेदवारी दर्ता गरेका छन् । उनले टिकट वितरणमा ढिलाई भएका कारण केन्द्रीय निर्वाचन आयोगको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएको बताए ।

यता नेमकिपाका भक्तपुर क्षेत्र नम्बर १ का उम्मेदवार प्रेम सुवालले सत्ता गठबन्धनमा सिट भागबण्डामा ढिलाई भएका कारण आयोगलाई दबाब दिएर केन्द्रमा उम्मेदवारी दिने व्यवस्था गरिएको आरोप लगाए । उनले आयोगले देशभरका उम्मेदवारको उम्मेदवारी केन्द्रबाट बुझ्नु गलत भएको बताए ।

आयोगले उम्मेदवार निर्वाचन अधिकृतको कार्यालयमा आफैँ उपस्थित हुन नसके प्रतिनिधि वा वारेस मार्फत पनि उम्मेदवारी दिन सकिने व्यवस्था गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.