महोत्तरीमा स्वतन्त्र र बागी उम्मेदवारका कारण चुनावी समीकरण रोचक

डिसी नेपाल
२८ असोज २०७९ १५:२८
168
Shares

महोत्तरी। दलबाट स्वतन्त्र उम्मेदवार दिएका लोकप्रिय युवा नेताहरूका कारण क्षेत्र नम्बर १ को चुनावी समीकरण रोचक बनेको छ।

माओवादी केन्द्रबाट बागी बनेका राजन ढुंगाना, विष्णु लामा, एमालेका प्रमोद महतो, फाल्गुन सुस्लिङ मगर, कांग्रेसबाट पोषण थापा, युवराज पोखरेलहरूको स्वतन्त्र उम्मेदवारीले चुनावी समीकरण रोचक हुने देखिएको हो। विशेष गरी क्षेत्र १ क मा उम्मेदवारी दिएका राजन ढुंगाना र फाल्गुन सुस्लिङ मगरको उम्मेदवारीले निक्कै चर्चा बटुलेको छ।

माओवादीबाट एमाले प्रवेश गरेका फाल्गुन सुस्लिङ मगर र राजन ढुंगाना पूर्वसहकर्मी पनि हुन्। पार्टीका गतिविधि र सांगठनिक निर्माणमा पार्टीभित्र छुट्टै पहिचान बनाएका नेताद्वय चुनावी प्रतिस्पर्धामा होमिनुले फरक ढंगले हेरिएको छ। एमाले प्रवेश गरेर खासै सहज महसुस नगरेका मगर र ढुंगानाको रणनीतिअनुसार नै स्वतन्त्र उम्मेदवारी दिएको हुनसक्ने कतिपयको आकलन छ।

पोषण थापा र युवराज पोखरेलले पनि चुनावी रणनीतिलाई तीव्र बनाएका छन्। यसअघि बर्दिबास नगरपालिकामा उनीहरूकै समर्थनमा प्रल्हादकुमार क्षेत्री विजयी भएका थिए। झन्डै १४ हजार मत ल्याएर निकटतम प्रतिद्वन्द्वीलाई ६ हजार मतले पछि पार्दै क्षेत्रीले स्थानीय निर्वाचनमा जित हासिल गरेका थिए। उनीहरूले सोही मतलाई पनि आकलन गरी रणनीति बनाएका छन्।

स्वतन्त्रको लहरले दल र गठबन्धनका साझा उम्मेदवार भने ओझेलमा परेका छन्। एमालेकी शारदा थापालाई प्रदेश क मा बागी तथा स्वतन्त्र उम्मेदवारले चुनौती थपेको छ।

सत्तारुढ गठबन्धनमा पनि बागी उम्मेदवारी दर्ता भएको छ। गठबन्धनवाट साझा उम्मेदवारी भएको दाबी गर्दै एकीकृत समाजवादीबाट सुरेश राउत र लोसपाबाट पिताम्बर महतो प्रतिस्पर्धामा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.