मत माग्न गाउँ पसे बागलुङका उम्मेदवार

डिसी नेपाल
१ कार्तिक २०७९ १४:४४
60
Shares

गलकोट। प्रतिनिधिसभा र प्रदेससभाको निर्वाचनका लागि बागलुङका उम्मेदवारहरुले गाउँ केन्द्रित अभियान थालेका छन्। सत्तारुढ गठबन्धन र नेकपा एमाले सहित साना दलहरुले समेत आइतबारदेखि निर्वाचन प्रचार प्रसारको तालिका बनाएर घरदैलो अभियान शुरु गरेको छ। गठबन्धनका उम्मेदवारले बागलुङ नगरपालिका–१ रामरेखा र नेकपा एमालेका उम्मेदवारले बागलुङ नगरपालिका–१४ नारायणस्थानबाट घरदैलो अभियान थालेका छन्।

पाँच दलीय गठबन्धनतर्फ बागलुङ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र बागलुङ क्षेत्र नं १ प्रदेशसभा (क) का उम्मेदवार नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापाले आइतबार बागलुङ नगरपालिका–१ रामरेखाबाट घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सुरु गरेका नेपाली कांग्रेसका जिल्ला सचिव हरिहर शर्माले जानकारी दिए।

शर्माका अनुसार पाँच दलीय गठबन्धन निर्वाचन परिचालन तथा प्रचारप्रसार समितिले निकालेको समय तालिका अनुसार आइतबार बागलुङ नगरपालिका–१ रामरेखाबाट सुरु भएको घरदैलो, मतदाता भेटघाट नं २ र ३ सम्म पुगेको छ। असोज २८ गते गठबन्धनको बागलुङ बजारमा निर्वाचन परिचालन कार्यालय उद्घाटन, २९ गते बागलुङ नगरपालिका–१४ नारायणस्थानमा भेटघाट तथा कुश्मिसेरामा क्षेत्र नं १ प्रदेशसभा (ख) अन्तर्गतको अनुशिक्षण गरेको पाँच दलीय गठबन्धले आइतबार रामरेखाबाट घरदैलो कार्यक्रम सुरु गरेको कांग्रेसका सचिव शर्माले बताए।

घरदैलो तथा भेटघाटमा नेता केसीले समग्र बागलुङको विकासका एजेण्डा राष्ट्रिय तहमा स्थापित गर्दै संविधानको रक्षाका लागि आफूलाई मतदान गर्न आग्रह गरे। यस्तै कांग्रेसका नेता बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभा (क) का उम्मेदवार थापाले विकास र सुशासनका पक्षमा आफुले मत मागेको बताए।

यस्तै नेकपा एमालेबाट बागलुङ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य उम्मेदवार डा सूर्य पाठकले आइतबार बागलुङ नगरपालिका–१४ नारायणस्थानबाट आफ्नो चुनावी कार्यक्रम सुरु गरेका छन्। डा पाठकले पहिलो दिन नारायणस्थानको नेपाने, कोलपाटा र नमूना गाउँमा घरदैलो कार्यक्रम गर्दै आफूलाई मत मागेका थिए। निर्वाचन परिचालन कमिटिले निर्माण गरेको कार्यतालिका अनुसार आइतबार नारायणस्थानमा घरदैलो कार्यक्रम सकेर कुश्मिसेरामा क्षेत्र नं १ प्रदेशसभा (ख) अन्तर्गतको कार्यालय स्थापना गरिएको निर्वाचन परिचालन कमिटिका संयोजक लीलाबहादुर थापाले जानकारी दिए। पाठकले सोमबार अमलाचौरमा घरदैलो कार्यक्रम गरेका थिए।

मतदातासँगको भेटमा डा पाठकले अघिल्लो निर्वाचनमा संसदीय अभ्यास र बागलुङको विकासमा सहयोग पु¥याउनुभएको मतदातालाई धन्यवाद दिँदै बागलुङका अधुरा ठूला योजना पूरा गर्न पुन: निर्वाचनमा आएको बताए। यस्तै बागलुङ क्षेत्र नं १ प्रदेशसभा (क) मा नेकपा एमालेबाट हीरा केसी आफ्ना चुनावी एजेण्डा लिएर भेटघाटमा लागेका छन्। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बागलुङमा गठबन्धन र दलका तर्फबाट चुनावी एजेण्डा र धारणासमेत सार्वजनिक गर्दै गाउँ पसेका हुन्।

बागलुङको दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रमा हुने निर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवार गरी ३१ जना चुनावी मैदानमा छन्। बागलुङ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट इञ्जिनीयर खिमान्न्द कँडेल निर्वाचनको मैदानमा छन्। उता बागलुङ क्षेत्र नं २ प्रतिनिधिसभाको निर्वाचनका लागि गठबन्धनबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेकपा एमालेबाट मन्जु क्षेत्री चुनावी मैदानमा उत्रेका छन्।

मन्त्री पौडेल उम्मेदवारी दर्तापछि शनिबार मात्रै गृह जिल्लामा चुनावी अभियानका लागि आउनुभएको हो। यस्तै माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेको सर्मथनमा प्रकाश घर्तीले बागलुङ क्षेत्र नं २ प्रदेश सभा (क) र नेपाली कांग्रेसका जिल्ला सभापति जीत शेरचनले उम्मेदवारी दिएका छन्। क्षेत्र नं २ प्रदेशसभा (ख)मा कांग्रेसका युवा नेता द्रोण कुँवर र नेकपा एमालेका युवा नेता लक्ष्मण पुनबीच प्रतिस्प्रर्धा हुँदैछ। दल तथा स्वतन्त्र उम्मेदवारले पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा सुशासनको मुद्दा लिएर गाउँ पसेका छन्। – रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.