प्रचण्डले भने-आगामी निर्वाचन हाम्रा लागि जीवन-मरणको सवाल हो

डिसी नेपाल
२ कार्तिक २०७९ १२:३४
32
Shares

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी ४ मंसिरमा हुने चुनाव सामान्य भोट हाल्ने चुनाव मात्र नभएर प्राप्त उपलब्धिको रक्षा र त्यो उल्ट्याउन चाहने शक्तिबीचको लडाइँ भएको बताएका छन्।

प्रेस सेन्टर ललितपुरले प्रकाशन गरेको बेपत्ता पत्रकार मिलन नेपालीको सम्झनाको मिलन स्मारिका विमोचनका क्रममा बुधबार बिहान उनले आगामी निर्वाचन आफूहरूका लागि मात्र नभएर नेपाली जनताकै जीवन-मरणको सवाल भएको बताए।

‘४ मंसिरमा दुइटा विचार, दुइटा प्रवृत्ति, दुइटा धाराको बीचमा ब्याटल हुँदै छ वास्तवमा। यो संविधान र परिवर्तनलाई उल्ट्याउन चाहने र यसलाई रक्षा गर्दै अझ अगाडि बढ्न चाहने दुइटा विचार, दुइटा प्रवृत्ति, दुइटा धारा जे भने पनि दुइटा शक्ति आमनेसामने छन्’, अध्यक्ष प्रचण्डले भने।

आगामी निर्वाचनलाई आफूलाई सामान्य निर्वाचनका रूपमा मात्र लिने छुट नभएको उनले स्पष्ट पारे। प्रचण्डले चुनाव जनक्रान्ति र जनयुद्धका उपलब्धि रक्षा गर्ने त्यो उल्ट्याउन खोज्नेबीचको लडाइँ जस्तो भएको उल्लेख गरे। माओवादीसँग हिजो जस्तो फौज नभएकाले शान्तिपूर्ण प्रतिस्पर्धाबाटै आफ्नो श्रेष्ठता साबित गर्नुपर्ने चुनौती रहेको उनको भनाइ थियो।

‘हामीसँग हिजोको जस्तो फौज त छैन। हामी शान्तिपूर्ण प्रतिस्पर्धामार्फत आफ्नो श्रेष्ठता साबित गर्ने चरणमा छौं’, अध्यक्ष प्रचण्डले भने, ‘समाजवादको उद्देश्य प्राप्तिका निम्ति नयाँ तरिकाको बाटो कोर्दै छौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.