इरानका राष्ट्रपतिसँग ओएएनए सदस्य मुलुकका प्रतिनिधिको भेट
इरान– इरानको राजधानी तेहरानमा जारी एसिया–प्रशान्त क्षेत्रका समाचार समितिहरूको सङ्गठन (ओएएनए)को १८औँ महासभामा सहभागी सदस्य मुलुकका प्रतिनिधिहरूले इरानका राष्ट्रपति इब्राहिम रइसीसँग भेटवार्ता गरेका छन् ।
राष्ट्रपति कार्यालयमा भएको सो भेटमा उनले अभिव्यक्ति स्वतन्त्रता, सत्य खोज्ने र सम्प्रेषण गर्ने सन्दर्भमा सञ्चार माध्यमको भूमिका झनै बढेको बताए । प्रत्येक समयमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो । राष्ट्रपति रइसीले व्यक्ति, समाज र देशको पहिचान कायम गर्ने सन्दर्भमा सञ्चारमाध्यम निकै सशक्त रहेको चर्चा गर्दै केही सञ्चार माध्यमले भने त्यस्तो दायित्व निर्वाह नगरेको टिप्पणी गरे ।
आफूहरू सधैँ शान्तिको पक्षमा रहेको भन्दै उनले विश्वमा शान्ति स्थापनाका लागि निरन्तर प्रयत्नशील रहेको बताए । राष्ट्रपति रइसीले ओएएनएमा आबद्ध देशका समाचार एजेन्सीहरूले आपसमा सहकार्य र समन्वयको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।
राष्ट्रपति रइसीले महासभामा सहभागीलाई स्वागत गरेका थिए । यसअघि सोमबार राति इरानका विदेशमन्त्री हुसैन अमिर–अब्दुल्लाहइनले महासभामा सहभागीको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए । सो अवसरमा उनले एसिया–प्रशान्त क्षेत्रका सञ्चारमाध्यमबीचको सहकार्यमा जोड दिए ।
महासभामा नेपालका तर्फबाट राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सहभागिता जनाएका छन् । यही अक्टोबर २३ देखि २६ सम्म चल्ने महासभामा एसिया–प्रशान्त क्षेत्रका ३५ सदस्य मुलुकका समाचार समितिका निर्देशक, व्यवस्थापक एवं सम्पादक गरी ६० जनाको सहभागिता छ ।
महासभामा ‘सञ्चार माध्यममा महामारीले ल्याएको परिवर्तन’ र ‘महामारीपछि सञ्चार माध्यममा सहकार्यको प्रवद्र्धन’ विषयमा छलफल भएको थियो । महासभाको उद्घाटन कार्यक्रममा इरानको संस्कृति मन्त्री महम्मद मेहदी स्माइलीले एसिया–प्रशान्त क्षेत्रको पत्रकारिताको प्रवद्र्धनमा जोड दिँदै समाचार एजेन्सीहरूबीच सहयोग र सहकार्यको आवश्यकता औंल्याएका थिए ।







डिसी नेपाल








Facebook Comment