सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गरिन्छः प्रधानमन्त्री देउवा

डिसी नेपाल
१९ कार्तिक २०७९ १९:५५
20
Shares

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल–भारतबीच रहेका सीमा विवाद कूटनीतिक सम्बन्ध र वार्ताका माध्यमबाट समाधान गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । डडेल्धुराको अजयमेरु गाउँपालिका–२ भद्रपुरमा आज आयोजित संयुक्त वाम–लोकतान्त्रिक गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले भने, “भाषणले सीमा विवाद समाधान हुँदैन, सार्थक कूटनीतिक पहलबाट समस्या समाधान हुन्छ ।”

चीनसँगका सीमा विवाद पनि कूटनीतिक पहलकै आधारमा समाधान हुने विश्वास व्यक्त गर्दै उनले भने, “भाषणले भूमि फिर्ता हुँदैन, त्यसका लागि कूटनीतिक पहल आवश्यक हुन्छ, त्यो हामी गरिरहेका छौँ ।” राजनीतिक जीवनको सुरुआतबाट नै सुदूरका हरेक जिल्ला र नेपाली भूमिबारे आफू जानकार रहेको उल्लेख गर्दै उहाँले नक्सा, सीमा सम्झौताका आधार र तथ्यमा टेकी वार्ताबाट नेपाली भूमि फिर्ता ल्याउने बताए ।

बिहीबारदेखि गृहजिल्लामा रहनुभएका देउवाले आज दुई चुनावीसभालाई सम्बोधन गरे । जिल्लाको अजयमेरुको भद्रपुर र भागेश्वरको रुपालको चुनावीसभालाई सम्बोधन गर्ने क्रममा उनले आफू सुदूरपश्चिमको स्थायीवासी भएकाले पनि यहाँको भूमि, विकास निर्माण, आर्थिक समृद्धिका बारेमा आफूलाई बढी चिन्ता हुने दाबी गरे । प्रधानमन्त्री देउवाले डडेल्धुरासहित सुदूरपश्चिमको सम्पूर्ण विकासका लागि आफू निरन्तर लागिपरेको उल्लेख गर्दै भौतिक र सामाजिक विकास अगाडि बढेको र अब आर्थिक समृद्धिका लागि पहल भइरहेको स्पष्ट पारे ।

उनले भने, “शिक्षामा सुधार ल्याउन मेडिकल कलेज र आधुनिक प्राविधिक शिक्षामा जोड दिन्छु । पश्चिमसेती, विमानस्थल, ग्रामीण सडकको स्तरोन्नति र कालोपत्रलगायत सिँचाइ, खानेपानी र विद्यालय निर्माणजस्ता विकासका कुरा अगाडि बढेको छ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.