किन घट्यो सिवाइसी नेपालको नाफा ?
काठमाडौँ। सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९–८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिसम्म आइपुग्दा लघुवित्तले १ करोड ५१ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ४४.७३ प्रतिशतले कम हो। गत वर्षको यही अवधिमा संस्थाले २ करोड ७३ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यसअवधिमा सञ्चालन नाफा पनि ५.५५ प्रतिशतले घटेर २ करोड ४२ लाख रुपैयाँ कायम भएको छ। गत वर्ष उक्त नाफा २ करोड ५७ लाख रुपैयाँ रहेको थियो। संस्थाले १ अर्ब ७८ करोड ९१ लाख रुपैयाँ बराबरको सापट लिएर ३ अर्ब ९२ करोड ५४ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ। यस अवधिसम्म संस्थाले १ अर्ब ४७ करोड १४ लाख रुपैयाँको निक्षेप संकलन गरेको छ।
खुद ब्याज आम्दानी भने ३६.१० प्रतिशत ले बढेर ६ करोड ४ लाख रुपैयाँ पुगेको छ। खुद ब्याज आम्दानी बढे पनि राइट ब्याक बापतको रकम शत प्रतिशतले घट्दा नाफा प्रभावित भएको हो। यसले गत वर्ष राइट ब्याक बापत १ करोड ७७ लाख रुपैयाँ छुट्याएको थियो। सिवाईसी नेपालको चुक्ता पुँजी १२ करोड १६ लाख ४१ हजार रुपैयाँ छ। जगेडा कोषमा २९ करोड ५९ लाख रुपैयाँ जम्मा रहेको छ।
असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ४९ रुपैयाँ ७८ पैसा कायम भएको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ ३४३ रुपैयाँ ३० पैसा छ। यसको खराब कर्जा अनुपात घटेर २.८७ प्रतिशत कायम भएको छ।







डिसी नेपाल







Facebook Comment