चुच्चे नक्सा संसदको एकमतले पास गरेको हो, ओलीले आफूले मात्रै पास गरेको झुटा कुरा गरेः प्रधानमन्त्री देउवा

डिसी नेपाल
२३ कार्तिक २०७९ १६:३०
28
Shares

खलङ्गा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि हो भनेर संसद्ले एक मतले पास गरेको बताएका छन् ।

आज दार्चुलाको गोकुलेश्वरमा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले मात्रै पास गरेको जस्तो गरेर झुटा कुरा गरिरहेको आरोप लगाए।

“कांग्रेस, माओवादी केन्द्रलगायतका सबै दल मिलेर एक आवाजमा संसद्बाट पास भएको हो”, प्रधानमन्त्री देउवाले भने, “अहिले ओलीले अरुले केही गरेकै छैन, आफूले मात्रै गरेँ भनेर झुटो कुरा गर्दैछन् ।” उरले केही दिनअघि ओली दार्चुला पुगेर गफ लगाएर फर्किएको आरोपसमेत लगाए ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले राष्ट्रलाई कुन दिशामा लैजाने भन्ने निर्णय लिने उनको भनाइ थियो । “अहिले धेरै किसिमका अफवाह पmैलाउने काम भइरहेको छ”, प्रधानमन्त्री देउवाले भने, “मुलुकलाई समृद्ध बनाउन गठबन्धन दल एकजुट भएर अघि बढेको छ ।”

उनले केही महिनाअघि दार्चुलामा नेपाल–भारत पक्की पुलको शिलान्यास भएको भन्दै उक्त पुल चाँडै निर्माण सम्पन्न हुने बताए । गोकुलेश्वर विमानस्थल सञ्चालनमा ल्याइने भन्दै देउवाले दार्चुलालाई दुई वर्षभित्र अँध्यारोमुक्त जिल्ला बनाइने धारणा राखे ।

“दार्चुलालाई तुइनमुक्त क्षेत्र घोषणा गरिनेछ”, उनले भने, “दार्चुला धेरै सम्भावना रहेको जिल्ला हो, यसको विकासमा हामी लाग्छौँ ।”

मेरै प्रस्तावमा ओली दुई पटक प्रधानमन्त्रीः अध्यक्ष दाहाल

सोही चुनावीसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नै प्रस्ताव गरेर एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाएको बताए ।

उनले ओली अब प्रधानमन्त्री बन्ने सम्भावना नरहेकोसमेत ठोकुवा गरे । पहिलो पटक संविधान बनाउन सहमत गराउन र दोस्रो पटक वाम एकताको प्रस्तावसहित ओलीलाई प्रधानमन्त्री बनाएको अध्यक्ष प्रचण्डको भनाइ थियो ।

भूमि फिर्ताका विषयमा उनले नक्सा मात्रै बनाएर नहुने भन्दै भारतसित कूटनीतिक तवरबाट पहल गर्नुपर्नेमा जोड दिए। “चुनाव आएपछि ओलीले राष्ट्रवादको कुरा गर्दै गोहीका आँसु चुहाउँछन्”, उनले भने, “प्रतिगमनलाई हराउन गठबन्धन बनाएका हौँ ।”

सत्ता गठबन्धनबाट दार्चुलामा प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू हुन् । उनीसँगको प्रतिस्पर्धामा एमालेका नेता एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्ना रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.