उच्च मनोबलकासाथ चुनावमा केन्द्रित हुन महानिरीक्षक अर्यालद्वारा युनिट कमाण्डरहरुलाई निर्देशन
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल वाहिनी, गण तथा गुल्म कमाण्डहरुलाई प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा पुरा गराउन प्रतिबद्ध भएर लाग्न निर्देशन दिएका छन् ।
भर्चुअल माध्यमबाट देशभरका कमाण्डहरुलाई एकैसाथ निर्देशन दिँदै महानिरीक्षक अर्यालले निर्वाचनका बखत कार्यक्षेत्रमा खटिँदा आईपर्ने जस्तोसुकै चुनौतीहरुको सामना गर्न तयार भएर बस्न निर्देशन दिँदै निर्वाचनको दौरानमा बल प्रयोग गर्नुपरेमा बल प्रयोगको सिद्धान्त अनुसार सबै प्रकारका सावधानी अपनाएर जिम्मेवारी पुरा गर्न र कुनैपनि कमीकजोरी भएमा स्वयम युनिट कमाण्डर जवाफदेही हुनुपर्ने बताए ।
सवारी साधनको उचित प्रयोग, त्यसमा अपनाउनु पर्ने सावधानी र न्युनतम श्रोतसाधनको अधिकतम प्रयोग गर्दै भोक, प्यास र थकानको परवाह नगरी क्रियाशील रहन निर्देशन दिँदै उनले भने– ‘निर्वाचनका बेला हुने कुनैपनि सुरक्षा कमीकमजोरी क्षम्य हुने छैन ।’
फिल्डको वस्तुस्थिति बुझेर तत्काल चेनअफ कमाण्डमा रिपोर्ट गर्नुका साथै मुख्यालयबाट खटिने निर्वाचन अनुगमन टोलीले समेत फिल्डमा देखिएका समस्याहरुलाई तत्काल समाधान गर्न र मुख्यालयबाट गर्नुपर्ने समन्वय, सहयोग र समाधानमा कुनै कसर बाँकी नराख्न उनले विभागीय प्रमुखहरुलाई समेत सोही अवसरमा निर्देशन दिए ।
निर्वाचनको समयमा फिल्डमा खटिँदा सामान्य भन्दा सामान्य त्रुटि समेत आफुले सुन्न र देख्न नचाहेको बताउँदै उनले बन्दोबस्ती लगायत अन्य भौतीक व्यवस्थापन संगठनले मातहत इकाईहरुसम्म पुर्याईसकेकोले त्यसको उच्चतम र भरपूर प्रयोग गर्न समेत निर्देशन दिए ।
कार्यक्रममा आसन्न निर्वाचनबारे वाहिनीपतिहरुले महानिरीक्षक अर्याल समक्ष सम्पूर्ण तयारी पूरा भएको योजना प्रस्तुत गरेका थिए ।
सशस्त्र प्रहरीले देशैभरी खटिएका जुनसुकै दर्जाका कमाण्डर तथा अन्य सशस्त्र प्रहरी कर्मचारीहरुले कार्य विभागका प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतम, केन्द्रिय निर्वाचन सेल प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधान तथा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विष्णु प्रसाद भट्टलाई सम्पर्क गर्न सक्ने गरी आजैबाट हटलाईन टेलिफोनको समेत व्यवस्था गरेको छ ।
महानिरीक्षक अर्यालको निर्देशन अघि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमले निर्वाचनको समयमा हुनसक्ने समस्या, चुनौती तथा कार्यक्षेत्रमा खटिंदा अपनाउनुपर्ने कार्यशैलीबारे मातहत कमाण्डरहरुलाई निर्देशन दिएका थिए भने महानिरीक्षक अर्याल समक्ष सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधानले चुनाव केन्द्रित प्रस्तुतीकरण गरेक थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम तथा बंशी राज दाहाल लगायत वाहिनीपतिहरु, मुख्यालयका वरिष्ठ अधिकृतहरु, गणपति र गुल्मपतिहरुको प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट उपस्थिति रहेको थियो ।







डिसी नेपाल








Facebook Comment