समानुपातिकमा एमालेको अग्रता कायमै, नेकपा एसले थ्रेसहोल्ड कटाउला?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन सकिएको सात दिन पूरा हुँदा पनि प्रत्यक्षतर्फको मतपरिणामसँगै समानुपातिकतर्फको पनि मतगणना जारी छ । प्रतिनिधिसभाको प्रत्यक्षसम्म एक सय ५६ निर्वाचन क्षेत्रको मतपरिणाम टुङ्गो लागिसकेको छ भने समानुपातिकतर्फ कुन दलले कति सिट पाउने टुङ्गो लागेको छैन ।
निर्वाचन आयोगका अनुसार आइतबार ११ बजेसम्म समानुपातिकतर्फ ८३ लाख ९२ हजार २९८ मतगणना भइसकेको छ । जसमा नेकपा (एमाले)ले अग्रता कायम राखेको छ । एमालेले सबैभन्दा बढी २३ लाख ५ हजार ६८२ मत प्राप्त गरेको छ ।
दोस्रो स्थानमा रहेको रहेको नेपाली कांग्रेसले २२ लाख ९ हजार ४१९ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले नौ लाख ६७ हजार ९७० मत प्राप्त गरेको छ ।
आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले नौ लाख २५ हजार २०२ मत प्राप्त गरेको छ । भने राष्ट्रिय प्रजातन्त्र पार्टीले चार लाख ८७ हजार ५५२ र जनता समाजवादी पार्टीले दुई लाख ८८ हजार ४९९ मत प्राप्त गरेका छन् ।
त्यसैगरी जनमत पार्टीले २ लाख २२ हजार ६९५, नागरिक उन्मुक्ति पार्टीले एक लाख ९९ हजार २३९ मत प्राप्त गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख २० हजार ३८६ मत, नेपाल मजदुर किसान पार्टीले ६९ हजार ९९० मत प्राप्त गरेको आयोगको तथ्याङ्क छ ।
हाम्रो नेपाल पार्टीले ४७ हजार ८६९, राष्ट्रिय जनमोर्चाले ४३ हजार ९१, मङ्गोल नेश्नल अर्गनाईजेशनले ४३ हजार ३६, नेपाल संघीय समाजवादी पार्टीले २८ हजार ६८९ र नेकपा (माले) ले २४ हजार २८७ मत प्राप्त गरेका छन्।
नेकपा (एकीकृत समाजवादी)ले कटायो दुई लाख
नेकपा (एकीकृत समाजवादी)ले समानुपातिकतर्फ दुई लाख मत कटाएको छ । निर्वाचन आयोगका अनुसार पार्टीले दुई लाख २२ हजार ७५७ मत प्राप्त गरेको छ । समानुपातिकतर्फ तीन प्रतिशतको थ्रेसहोल्ड नपुर्याए राष्ट्रिय पार्टी बन्छ कि बन्दैन भन्ने संशय पैदा भइरहेका बेला पार्टीले दुई लाख बढी मत प्राप्त गरिसकेको छ ।
एकीकृत समाजवादीका नेता डा बेदुराम भुषालले समानुपातिकतर्फ अपेक्षा गरेभन्दा कम मत प्राप्त भएको बताए। “हाम्रो पार्टीले समानुपातिकतर्फ कम मत प्राप्त गरेको छ, यो हाम्रो अपेक्षाभन्दा कम मत हो”, उनले भने, “सबै स्थानको मतगणना भइसक्दा थ्रेसहोल्ड कट्छ भन्नेमा विश्वास छ ।”
नेता भुषालले प्रत्यक्षतर्फ भने पार्टीले सकारात्मक परिणाम हासिल गरेको बताए । यद्यपि, मकवानपुर–२, काठमाडौँ–८ र ललितपुर–२ मा भने अपेक्षित नतिजा नआएको उनको भनाइ छ ।
निर्वाचन आयोगका अनुसार मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कूल ६१ प्रतिशत मत खसेको थियो । समानुपातिक निर्वाचन प्रणालीमार्फत् एक सय १० प्रतिनिधिसभा सदस्य चुनिने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई हजार एक सय ९९ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ ।







डिसी नेपाल








Facebook Comment