जसपाकाे प्रभाव क्षेत्रमा कसरी पराजित भए मण्डल?
काठमाडौं। मधेस प्रदेशमा जसपासँग तालमेल गरेको एमालेले राम्रो नजिता निकाल्दा जसपाले भने सोचे अनुसारको परिणाम निकाल्न सकेन। जसपा अध्यक्ष उपेन्द्र यादव आफैं पराजित भए।
उता जसपा नेता अशोक राई भने एमालेसँगको तालमेलबाट निर्वाचित बनेका छन्। जसपाको प्रभाव क्षेत्र मानिएको सिराह–४ बाट प्रतिनिधिसभामा जसपा उम्मेदवार डा. वीरेन्द्र महतो निर्वाचित भए।
तर सोही क्षेत्रका प्रदेश-२ मा भने जसपा उम्मेदवार सुरेश मण्डल पराजित बन्न पुगे। मण्डल स्थानीय तहमा भिजेका, युवा, विद्यार्थी र मधेस आन्दोलनबाट उदाएका नेता हुन्। अघिल्लो निर्वाचनका सोही क्षेत्रबाट मण्डल निर्वाचित भएका थिए। तर यो पटक उनी लोसपाका उम्मेदवार रामबाबु यादवसँग ३६५ मतान्तरले पराजित बन्न पुगे।
पाँच वर्षसम्म उनले आफ्नो निर्वाचन क्षेत्रमा राम्रोसँग विकास गरेको, राज्यमन्त्री हुँदा गरेको विकास निर्माण, प्रदेश सभामा खेलेको भूमिकालगायतका कारण उनी चर्चित बन्न पुगेका थिए।
जसपाको राम्रो प्रभाव रहेको र एमालेसँग तालमेल गर्दा मण्डल चुनाव जित्नेमा विश्वस्त थिए। चुनाव प्रचार प्रसारको क्रममा घरदैलो अभियान गर्दा पनि उनले जनस्तरबाट राम्रो प्रतिक्रिया पाएका थिए। तर पनि निर्वाचन परिणाम उनको पक्षमा आएन।
सो क्षेत्रमा जसपाका एक कार्यकर्ताका अनुसार यो पटकको निर्वाचनमा उनकै पार्टी जसपाले मण्डललाई हराउन भूमिका खेल्यो। एमालेबाट पनि सोचेजस्तो मत आएन।
उता सत्ता गठबन्धनको समर्थनमा उम्मेदवारी दिएका लोसपा उम्मेदवारले मण्डललाई पराजित गर्न सक्दो प्रयास गर्ने नै भए। ‘उहाँले हार्नुपर्ने कुनै कारण थिएन,’ जसपाका एक कार्यकर्ताले भने, ‘जसपाबाटै अन्तघात भयो भने एमालेबाट पनि सोचेजस्तो मत आएन। विपक्षी दलले त उहाँलाई तार्गेट नै गरेका थिए।’







डिसी नेपाल








Facebook Comment