सेना र गुप्तचरलाई बाहिर राखेर दुई आइजीपीलाई प्रधानमन्त्रीको धन्यवाद

डिसी नेपाल
१४ मंसिर २०७९ १२:१८
216
Shares

काठमाडौं। प्रतिनीधि सभा र प्रदेश सभा निर्वाचनमा सरकारले नेपाली सेना सहितको एकीकृत सुरक्षा योजना लागू गरेको थियो। सोही सुरक्षा योजना अन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा म्यादी प्रहरी खटिएका थिए।

सरकारले लागू गरेको सुरक्षा योजना अन्तर्गत चार वटै सुरक्षा अंग खटिएका थिए। नेपाल प्रहरी मतदान स्थलको सुरक्षामा खटिएपछि त्यसलाई सहयोग गर्न नेपाली, सशस्त्र प्रहरी खटिएको थियो।

तर प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखलाई मात्रै बालुवाटार बोलाएर चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएको धन्यवाद दिए।

विवाह पञ्चमीको दिन साँझ दुई आइजीपीलाई प्रधानमन्त्री देउवाले बोलाएर धन्यवाद दिँदा त्यहाँ नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख भने थिएनन्।

‘निर्वाचनमा सानो होस ठूलो होस सबै सुरक्षा निकायको उत्तिकै भूमिका रहेको छ तर प्रधानमन्त्रीले भने कुनै दुईलाई मात्र बोलाएर धन्यवाद दिनुलाई हामीले सन्तोष व्यक्त गर्ने कि हाम्रो भूमिका थियो प्रधानमन्त्रीले सम्झनु भएन भन्ने’, नेपाली सेनाका एक अधिकारीले भने।

उनका अनुसार गृहमन्त्रालय र निर्वाचन आयोगका सुरक्षासँग सम्बन्धित छलफलमा दुवै प्रहरी संगठनका अतिरिक्त नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरु पनि सहभागी हुँदै आएका छन्। तर पनि प्रधानमन्त्रीले प्रहरीलाई मात्रै बोलाएर धन्यवाद दिनुले अन्य सुरक्षा निकायको भूमिकालाई माइनस गर्नु खोजेको हो कि भन्ने शंका उब्जेको हो।

‘प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको भन्दै नेपाल प्रहरी प्रमुख धिरजप्रताप सिंह र सशस्त्र प्रहरी प्रमुख राजु अर्याललाई बालुवाटार बोलाएर देउवाले धन्यवाद दिएका हुन्’, वालुवाटार स्रोतले भन्यो।

भेटघाटको क्रममा दुवै सुरक्षा निकायका प्रमुखले निर्वाचनका बेला देशभर भएका घटनाबारे ब्रिफिङ गर्नुका साथै निर्वाचनको बेला आइपरेका समस्याको बारेमा पनि जानकारी गराएका थिए।

स्रोतका अनुसार आईजीपी सिंहले चुनावका दिन १४ जिल्लामा २२२ राउण्ड गोली चलेको ब्रिफिङ गरेका थिए। त्यसक्रममा ४८ राउण्ड अरू ग्यास प्रहार गरिएको थियो। त्यसैगरी सशस्त्र प्रहरी बलका आइजीपीले सीमा क्षेत्रमा सशस्त्रले गरेको सुरक्षा र निर्वाचनको बेला नेपाल प्रहरीलाई आफ्नो संगठनले सहयोग गरेको विषयगत रुपमा प्रस्तुत गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.