अपाङ्गता भएका व्यक्तिको विषयमा सरकार संवेदनशील बन्नुपर्छः मन्त्री रेग्मी

डिसी नेपाल
१७ मंसिर २०७९ १८:२३
24
Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले अपाङ्गता भएका व्यक्तिको सवालमा तीनवटै सरकार संवेदनशील बन्नुपर्ने बताएकी छन् ।

अपाङ्गता भएका व्यक्तिको ३१औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय अपाङ्ग कोषले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अपाङ्गता भएका व्यक्तिको सवालमा तीन तहकै सरकार संवेदनशील बनेर काम गर्न जरुरी रहेको बताएकी हुन् ।

“दुर्गम क्षेत्रमा शारीरिक अशक्त भएर बसेका व्यक्तिको सेवा प्रवाहमा स्थानीय सरकार बढी जिम्मेवार र संवेदनशील बन्न आवश्यक छ”, उनले भनिन् । सङ्घीय सरकार र प्रदेश सरकारले पनि अपाङ्गता भएका व्यक्तिहरूको सवालमा बजेट छुट्याएर काम गर्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री रेग्मीले स्थानीय तहले अपाङ्गता भएका व्यक्तिहरूको सेवा, सुविधामा ध्यान नदिएको गुनासो आएको भन्दै मन्त्रालय गम्भीर बनेको बताइन् । कार्यक्रममा राष्ट्रियसभाका सदस्य एवं दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले अपाङ्ग कोषले अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग सामग्री निर्माणमा अझै जोडबल गर्नुपर्ने बताइन् ।

“अपाङ्ग भएका व्यक्तिहरूका लागि स्थानीय सरकारले सहायक सामग्री घर–घरमा नै लगिदिनुपर्छ”, उनले भनिन् । स्थानीय तहले अपाङ्ग भएका व्यक्तिलाई सहयोगमा चासो नदिएको उनको भनाइ थियो । उनले अपाङ्गता भएका व्यक्तिहरूलाई सरकारबाट पनि सोचेअनुसारको सहयोग प्राप्त नभइरहेको गुनासो गरिन । सभापति पन्थले पछिल्लो समय अपाङ्गता कार्डको दुरुपयोग भइरहेको भन्दै त्यस्तालाई कारबाही गर्न सकारसँग आगह गरिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.