कम्युनिष्ट आदर्शका बेदुरामको पीडा, गुण्डा नाइकेको गुणगान

डिसी नेपाल
२१ मंसिर २०७९ ७:०९
1.6k
Shares

काठमाडौं। मान्छेको जीबनमा के के आइपर्छ के के? जिन्दगीभर कम्युनिष्ट आदर्श बोकेर इज्जत कमाएका नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाललाई सायद त्यस्तै आइपरेको होला हिजोआज।

कम्युनिष्ट आदर्शमा जीवनको अधिकांश समय विताएका बेदुरामले एउटा सभामा जीवनको धेरैजसो समय गुण्डागर्दी, अपराध, जवर्जस्ती असुली र डनगिरीमा व्यतित गरेका पात्रको गुणगान गाउनु पर्‍याे।

बेदुरामलाई आदर्श मान्नेहरुलाई यो दृश्यले सायद पीडा दिएको हुनुपर्छ। स्वयं बेदुरामले कुन आँट, लोभ वा वाध्यता के ले डोहोस्याएर ती पात्रको प्रसंसा गर्न पुगे कुन्नि? कुनै दिन उनले भावुकतावस पक्कै पनि सार्वजानिकरुपमा बताउलान् नै।

तर, हिजो अर्थात् मंसीर २० गते मंगलबार नेकपा एसको केन्द्रीय कार्यालयको सो दृश्य निकै अनौठो थियो। बेदुरामले नेपालभर बद्नामी कमाएका तर दलहरुले सुनपानी छर्कदै आएका पात्र अर्थात् डन दीपक मनाङेको भारी प्रसंसा गरे।

कम्युनिष्ट आदर्श सिद्धान्त र जनवादी केन्द्रीयताको आधारभूत दर्शनबाट च्यूत भएर व्यक्तिपूजामा रमाएको, सर्वेसर्वा हुन खोजेको, बोली नै कानुन बनाउन खोजेर कम्युनिष्ट पार्टीलाई बद्नाम गराएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीविरुद्ध कडा रुपमा प्रस्तुत हुने मात्र होइन त्यस्ता आदर्शहीन, सर्वसत्तावादी भन्दै ओलीको नेतृत्वको पार्टीबाटै विद्रोह गर्ने यी आदर्शवादी बेदुरामले मनाङेको प्रसंसामा भनेका कुराले त सायद बेदुरामलाई चिन्नेहरुले जीब्रो नै टोके होला।

आफ्नो पार्टी प्रवेश गरेका मनाङेको प्रसंसा गर्दै उनले भने, ‘हामीले मनाङ्गेले गरेका कामहरुबाट सिक्नुपर्छ।’ उनको विगत विर्सेर मन्त्री छँदा गरेका कामहरु अनुकरण गर्नुपर्ने तर्क भुसालले राखेका थिए।

मनाङेले मनाङबाट स्वतन्त्रको हैसियतमा निर्विरोध प्रदेश सभासद् जिते अनि गण्डकीमा विऊ नै समाप्त भएको नेकपा एस पार्टी रोजेर प्रवेश गरेकाले उनलाई स्वागत गर्नु पार्टी महासचिवको हैसियतले स्वाभाविक होला।

उनलाई पार्टी कार्यालयमा स्वागत गर्दा सामान्य हिसावले एउटा प्रदेश सभासद्लाई स्वगत गर्ने अभिव्यक्ति दिएर बेदुराम उम्कन सक्ने थिए। तर उनले त्यसो गरेनन्। उनले भने,‘ एक अवधि उहाँले(मनाङेले) प्रदेश सरकारको मन्त्री भएर पनि कम गरेर देखाइसक्नुभएको छ। त्यसबाट सिक्नुपर्छ, उहाँले गरेका कामबाट सिक्नुपर्छ भन्ने मलाई लाग्छ।’

प्रदेश सरकारको खेलकुद मन्त्री हुँदा मनाङे गुण्डागर्दी गरेको, जिल्ला खेलकुद परिषद्कै अध्यक्षमाथि हातपात गरेको, आफ्नो पीएलाई लिखितरुपमै मन्त्रीको कार्यभार दिएको मात्र होइन मातहतको कर्मचारीमाथि हात उठाएकोजस्ता अनेकौं काण्डमा विवादमा परेका व्यक्ति हुन्।

सत्ताको खिचातानीमा वाध्यात्मक अवस्थामा शुरुमा एमाले र पछि नेपाली कांग्रेसका मुख्यमन्त्रीहरुको कार्यकालमा खेलकुद मन्त्री बन्न पाएका मनाङेले माथि उल्लेख गरेको भन्दा भिन्न के के स्मरणयोग्य काम गरे त्यो फेयरिस्त भने महासचिव भुसालले दिएनन्।

के के कुरामा राजनीतिमा भोटा फटाएका, अनेक आन्दोलन र संघर्षबाट खारिएर आएकाहरुले मनाङेबाट सिक्नु पर्ने हो त्यो नबताए पनि वेदुरामले विगतमा मनाङेबाट भएका गल्ती कमजोरीहरुको पछि लागेर बस्न नहुने बरु मन्त्री हुँदा गरेका कामबाट सिक्नुपर्ने भाषण दिएका थिए। उ

नले भनेका थिए—विगत,वर्तमान र भविष्य सबै हुन्छ हाम्रा अगाडि त्यसैले विगतमा के थियो भन्ने कुराभन्दा पनि वर्तमानमा के छ भनेर हेर्नुपर्छ। भविष्यमा कता जाँदैछ भनेर हेर्नुपर्छ। राजीवजीले आफ्नो विगतलाई बदलेर जसरी जनसेवाको भावनाले राजनीति गर्छु, अगाडि बढ्छु भन्ने प्रतिबद्धताका साथ अगाडि बढुनभएको छ, त्यसलाई सकारात्मक ढंगले लिनुपर्छ।’

उनले मनाङेलाई विगतको आँखाले नहेर्न पनि आग्रह गरे र भने, ‘हामीले के बुझ्नुपर्छ भने मान्छे मान्छे नै हो, जसले राम्रो काम पनि गर्छ। कहिलेकाहीं काम गर्दै जाँदा गल्ती पनि गर्छ। मान्छेलाई मान्छेको इतिहासलाई विगतको आँखालेमात्र हेर्नु हुँदैन।’

आदर्शवादी कम्युनिष्ट नेता बेदुरामको कम्युनिष्ट आदर्श मनाङ्गेको अनुसरण गर्नुपर्ने भाषणमा आएर विसर्जित भएको छ। मनाङेको जीवनका लागि त हिजोको त्यो कार्यक्रम ऐतिहासिक नै थियो होला किनकि त्यस्ता आदर्शवान् कम्युनिष्ट नेताले उनीबाट सिक्नुपर्छ भन्दै आरुलाई अर्ती दिँदै थिए।

शायद् यो भनाइले आफ्नो विगतप्रति मनाङेले गर्व पनि गरे होला। तर, यो कलंकले बेदुरामलाई चाहिँ भित्रीरुपमा कत्तिको सताएको होला? कि आदर्श त्यस्तै हो, राजनीति भनेको यस्तै हो भनेर सम्हालिएका होलान्?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.