रेशम चौधरी छुट्ने भन्दै डिल्लीबजार कारागारमा उन्मुक्ति पार्टीका कार्यकर्ता भेला हुँदै

डिसी नेपाल
२६ मंसिर २०७९ १२:२४
700
Shares

काठमाडौं। हत्या अभियोगमा आजीवन कारावासको सजाय भोगिरहेका रेशम चौधरी छुट्ने भन्दै नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ता डिल्लीबजार कारागार अगाडि भेला हुन थालेका छन्।

सरकारले थरुहट आन्दोलन, नेकपा विप्लवलगायत राजनीतिक पार्टीका नेता कार्यकर्तालाई छुटाउन अध्यादेश ल्याउने निर्णय गरेलगत्तै सोमबार बिहान डिल्लीबजार कारागारमा रहेका रेशम चौधरी छुट्ने हल्ला चलेको हो।

आइतबार सरकारले अध्यादेश ल्याउने निर्णय गरेलगत्तै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पार्टी सरकारमा सामेल हुने र रेशम चौधरी कारागारबाट छुट्ने प्रतिक्रिया मिडियालाई दिएकी थिइन्।

अहिले डिल्लीबजार कारागार अगाडि सडकमा रेशम चौधरीका कार्यकर्ता पार्टीका झन्डा र फूलमालासहित उपस्थित भएका छन्। डिल्लीबजार कारागार प्रशासनले भने यसबारे आफूलाई कुनै जानकारी नभएको जनाएको छ।

चुनाव सकिएलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले कारागारमै गएर चौधरीलाई भेटेका थिए।

उनीहरूले नयाँ बन्ने सरकारमा नागरिक उन्मुक्ति पार्टीलाई सहभागी हुन आग्रह गरेका थिए। जवाफमा चौधरीले थरुहट आन्दोलनमा सहभागीमाथि लगाइएको मुद्दा खारेज र आममाफी दिनुपर्ने प्रस्ताव गरेका थिए।

टीकापुर हत्याकाण्डमा एक बालकसहित आठ सुरक्षाकर्मीले ज्यान गुमाएका थिए। साे घटना रेशम चाैधरीकै निर्देशनमा भएकाे भन्दै अदालतले उनलाई आजीवन कारावासकाे सजाय सुनाएकाे थियाे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.