जसपा अहिले कुन गठबन्धनमा छ ?

डिसी नेपाल
१ पुष २०७९ १५:०३
180
Shares

काठमाडौं। सत्ता गठबन्धनमा रहेर सरकामा समेत सामेल बनेको जनता समाजवादी पार्टी जसपाले चुनावको मुखैमा एमालेसँग तालमेल गर्‍यो। गठबन्धनभित्र सिट बाँडफाँटमा कुरा नमिल्दा एमाले कित्तामा गएको जसपाले निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न सकेन।

निर्वाचनको नतिजा सार्वजनिक भएसँगै जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको तालमेल सकिएको बताए थिए। उनले निर्वाचनका लागि मात्र तालमेल गर्ने सहमति भएकाले निर्वाचन सकिएसँगै तालमेल सकिएको समेत उल्लेख गरेका थिए।

आमनिर्वाचनमार्फत् सत्ता गठबन्धनले नै नयाँ सरकार गठनको म्यान्डेट पाएपछि अध्यक्ष यादवको उक्त अभिव्यक्तिले राजनीतिक वृत्तमा जसपा कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल हुने आंकलन धेरैको थियो । उक्त आंकलनलाई थप बल पुर्‍याउने अर्को कुरा थियो, अध्यक्ष यादवको हार।

उनले एमाले गठबन्धनमा सामेल भएर पनि निर्वाचनमा पराजय भोगका थिए। जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग भारी मतान्तरले पराजित भएका यादव एमालेप्रति रुष्ट बनेर सहकार्य तोडेको हुन सक्ने समेत कतिपयको आंकलन थियो।

तर, जसपाकै अर्का नेता अशाेक राइले आफूहरु एमालेको गठबन्धनमै रहेको बताएपछि नेताहरूबीचमै कुरा बाझियो। पार्टीभित्र रहेका विभिन्न धारहरू देखिएको विश्लेषण भइरहेका छन्।

बिहीबार निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आमनिर्वाचनको अन्तिम परिणाम बुझाएको छ। योसँगै सरकार गठनको प्रक्रिया सुरु भइरहँदा जसपा कता लाग्छ भन्ने आम चासोको विषय बनेको छ। एमालेसँग गठबन्धन तोडेको घोषणा गरेका अध्यक्ष यादवले सत्ता गठबन्धनमा सामेल हुनेबारे ठोस निर्णय गरिसकेका छैनन्। सरकार गठनको प्रक्रिया सुरु भइरहँदा जसपा कता लाग्छ भन्ने आम चासोको विषय बनेको देखिन्छ।

जसपा अहिले पनि एमालेकै गठबन्धनमा हो? भन्ने प्रश्नमा जसपा प्रवक्ता मनिष सुमन हाल आफूहरू कुनै गठबन्धनमा नरहेको बताउँछन्। पार्टीले सहकार्यका लागि सबै बाटोहरू खुला राखेको बताउँदै उनले सरकार वा गठबन्धनमा सहभागी बन्न एजेण्डामा सहमति हुनुपर्ने बताए।

‘हामी अहिले कुनै गठबन्धनमा छैनौं। सहकार्यका लागि सबै बाटाहरू खुला छन्। तर, हामीले माग गरेका विषय र पार्टीका एजेण्डा जसले पूरा गर्न सघाउँछन्। हामी त्यता जान्छौं,’ उनले भने।

उनले नेताहरूबीच निरन्तर भेटघाट छलफल चलिरहे पनि ठोस रूपमा कसैसँग सहमति नभएको बताए। प्रवक्ता सुमनले पार्टीभित्र कुनै फरक धार नभएको समेत दाबी गरे। पार्टीभित्र नेताहरू एकमत रहेको पनि दाबी गरेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.