कांग्रेस संसदीय दलको नेताको चुनाव आज, सभापति देउवा र महामन्त्री थापाबीच प्रतिश्पर्धा
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको नेताका लागि आज बुधबार चुनाव हुँदैछ। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा चुनावी मैदानमा छन्।
संसदीय दलको नेताका लागि आज बिहान ८ बजेदेखि १० बजेसम्म मतदान हुनेछ।
संसदीय दलको नेता चयनका लागि कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य मतदाता हुन्छन्। ८९ जना मतदाता रहेका छन्। संसदीय दलको नेता निर्वाचित हुन ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ। यसअनुसार संसदीय दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने देखिन्छ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संसदीय दलको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित चार नेताको साथ रहेको कांग्रेस नेताले दाबी गरेका छन्।
एक वर्ष अघि भएको पार्टीको १४ औँ महाधिवेशनमा देउवासँगै सभापतिमा प्रतिस्पर्धा गरेका प्रकाशमान सिंह र विमलेन्द्र निधिले सभापति देउवालाई साथ दिने बताइसकेका छन्। साथै वरिष्ठ नेता रामचन्द्र पौडेल भने संसदीय दलको नेतामा देउवाको उम्मेदवारीको प्रस्तावक नै रहेका छन्।
यता कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका छोरा शशाङ्क कोइरालाले पनि आफू सभापति देउवाका साथमा रहेको बताएका छन्। उनले हालै एक सार्वजनिक कार्यक्रममा मुलुक हाँक्न अनुभवी तथा परिपक्व नेता आवश्यक रहेकाले देउवा नै संसदीय दलको नेता चुनिने बताएका हुन्।
नेपाली कांग्रेसमा पार्टीको सभापति नै संसदलीय दलको नेता हुने प्रचलन छ। उता महामन्त्री थापालाई कांग्रेसका प्रभावशाली युवा नेताहरूको समेत समर्थन देखिएको छ। संस्थापन इतर पक्षबाट पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवार बनेका थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले समर्थन गरेका छन्।
कांग्रेसका प्रदीप पौडेल, मिनेन्द्र रिजालसमेतले थापालाई साथ दिएका छन्। जसमा मिनेन्द्र सांसद भने होइनन्। तर, उनीनिकट सांसदहरूसँग गगनको पक्षमा मत मागिरहेका छन्।
कांग्रेसमा पुस्तान्तरणको आवाज उठिरहेका बेला युवा नेताहरूमा समेत कांग्रेस परिवर्तनको हुटहुटी देखिएको छ।







डिसी नेपाल








Facebook Comment