कांग्रेसमा देउवाप्रति आक्रोश
काठमाडौं। सभापति शेरबहादुर देउवाको हठका कारण निर्वाचनमा सबै भन्दा ठूलो दल भएपनि सत्ताबाट बिमुख भएपछि देउवाप्रति आक्रोश पोखिएको छ। कांग्रेस नेताहरुले नै देउवालाई नैतिकताका आधारमा सभापतिबाट राजीनामा दिनुपर्ने अन्यथा विशेष महाधिवेशन बनाउन बाध्य हुने चेतावनी दिन थालेका छन्।
कांग्रेस र माओवादीबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएपनि सुरुमा सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा कुरा नमिल्दा माओवादी पाँच दलीय गठबन्धनबाट बाहिरिएर एमालेलगायत दलको सहयोगमा प्रचण्ड प्रधानमन्त्री बनेपछि कांग्रेसमा देउवाप्रति आक्रोश चुलिएको हो।

कांग्रेस नेता अर्जुन नरसिंह केसीले ‘म नै पार्टी, म नै राज्य हुँ’ भन्ने अहंकार, स्वकेन्द्रित निर्णय, चरम सत्ता लिप्साको दुषित नियतले भर्खरै प्राप्त जनादेशलाई उपेक्षा र तिरस्कार गर्दै पाँच दलीय गठबन्धन टुटेको भन्दै सभापति देउवाप्रति आक्रोश पोखेका छन्।
कांग्रेस नेता गुरु घिमिरेले सभापति देउवाले सभापति र संसदीय दलको नेताबाट तत्काल राजीनामा दिनेपर्ने भन्दै त्यसो नगरे विशेष महाधिवेशन बोलाइने चेतावनी दिएका छन्। समाजिक सञ्जालमा स्टाटस लेख्दै घिमिरेले हिजो गठबन्धन गर्नु गलत भन्दा भन्दै किन गठबन्धन गरियो र आज किन जोगाउन सकिएन? भन्ने प्रश्न गरेका छन्।

पूर्वसभामुख तथा कांग्रेस नेता दमननाथ ढुंगानाले संसदीय प्रणालीमा आस्थागत प्रतिवद्धता भएको नेपाली कांग्रेस संख्याको रुपमा कहाँ चुक्यो? सत्ताको लोभमा सिद्धान्तसँग अमिल्दो काम गर्दा नेतृत्व र नीतिबारे तुरुन्त सिंहालोकन जरुरी भएको बताएका छन्।

सामाजिक सञ्जालमा कांग्रेस नेता तथा समर्थकले देउवाको हठका कारण संघदेखि प्रदेश सबै ठाउँबाट कांग्रेस विमुख हुनुपरेको भन्दै आक्रोश व्यक्त गरिरहेका छन्।








डिसी नेपाल








Facebook Comment