गृहमन्त्री लामिछानेले भनेः मन्त्रालय फुटाउनेबारे सत्ता गठबन्धनमा छलफल भएको छैन
काठमाडौं । सत्ता गठबन्धनले प्रारम्भिक रुपमा सरकारले गरेको कामको समीक्षा गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रमलाई भोलिसम्म अन्तिम रुप दिने छलफल भएको छ ।
भ्रष्टाचार नियन्त्रणलाई प्रमुख विषय बनाएर नीतिगत परिवर्ततका केन्द्रित रहेर छलफल गरिरहेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बताए । उनले मन्त्रालय फुटाउनेबारे गठबन्धनको बैठकमा कुनै छलफल नभएको उल्लेख गर्दै त्यसबारे कुनै सोच नभएको बताए ।
प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने उनको भनाइ छ । गठबन्धनको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयारी भइरहेकाले भोलि टुंग्याउने मन्त्री लामिछानेले बताए ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी ओली, रास्वपा अध्यक्ष एवं गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए।







डिसी नेपाल








Facebook Comment