आदेश होइन कानुनको पालना गर्न गृहमन्त्रीको निर्देशन

डिसी नेपाल
२८ पुष २०७९ १२:४४
48
Shares

काठमाडौँ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन कानुनको पालना गर्न निर्देशन दिएका छन्। आज भरतपुर विमानस्थलको पार्किङस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएको जानकारी दिए।

“सबै प्रमुख जिल्ला अधिकारीहरुलाई कसैको पनि प्रभावमा नपरी काम गर्नका लागि निर्देशन दिएको छु”, उनले भने, “कानुनको पालना गर्न र गल्ती काम नगर्न सचेत गराएको छु।” उनले जे सही हो त्यही मात्र काम गर्न र आदेश होइन कानुन पालना गर्नुहोस् भनि सुरक्षा संयन्त्रलाई निर्देशन दिएको जानकारी दिए।

उनले कुनै पनि राजनीतिक दलको दबाबमा नपरी काम गर्नु समेत निर्देशन दिएको स्पष्ट पारे। “अपराध अनुसन्धानमा राजनीतिक दलले बाधा पुर्‍याउने वा मेरो मान्छे छोडिदेउ जस्ता कुरा नसुन्नुहोस्, त्यसरी दबाब दिएको प्रमाण ल्याएमा त्यस्ता मानिसलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको छु”, उनले भने।

आफू सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको हकमा झन बढी निर्मम भएर काम गर्न निर्देशन दिएको उनको भनाइ छ। नेपाल प्रहरीलाई बलियो बनाउन र प्रहरी सङ्ठनभित्र देखिएका समस्या समाधान गर्दै विधिको शासन कायम गर्नका निमित्त काम आफूले गरिरहेको बताए। यसका लागि योजना बनाइरहेको उनले जानकारी दिए।

उनले सरकारले छिट्टै पूर्णता पाउने भन्दै आफ्नो पार्टीले विज्ञताका आधारमा सरकारमा सहभागी हुने स्पष्ट पारे। सबै निकायसँग समन्वय गरेर मुलुको विकासका काम गरिने उनको भनाइ छ।

देशभर बन्द भएका अवैध क्रसर उद्योग सञ्चालनका विषयमा सचिवस्तरीय छलफल भइरहेको भन्दै उनले कानुनको पालना गर्ने विषयमा आफू कटिबद्ध रहेको स्पष्ट पारे। – रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.