५ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल मिति सर्यो

डिसी नेपाल
२ माघ २०७९ १०:२५
84
Shares

काठमाडौँ। नेपाल राष्ट्र बैंकले ५ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल निष्काशन गर्ने मिति सरेको छ। सरकारले आज पोखरा विमान दुर्घटनाको शोक बिदा दिएको हुनाले ट्रेजरी बिल निष्काशन गर्ने मिति सरेको हो।

राष्ट्र बैंकले ९१ दिनको लागि उक्त ट्रेजरी बिल निष्काशनको मिति आज तय भएको थियो। तर, सरकारले बिदा दिएकोले अब राष्ट्र बैंकले उक्त ट्रेजरी बिलको बोलकबोल भोलि (माघ ३ गते) हुने भएको छ। ९१ दिनको लागि निष्काशन गर्ने यो ट्रेजरी २०८० बैशाख ५ गते परिपक्व हुनेछ।

यो ट्रेजरी बिलका लागि मंगलबार दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ।

व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइने व्यवस्था गरेकाे छ। सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.