प्रधानमन्त्री प्रचण्ड-ओली छलफल : मन्त्रालयको भागबण्डा मिल्यो

डिसी नेपाल
२ माघ २०७९ १५:०५
944
Shares

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झण्डै पाँच घण्टा छलफल गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीच मन्त्रालयको भागबण्डा आजै टुंगिने बताएका छन्।

ओली निवास बालकोटाबाट बाहिरिने क्रममा संचारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले सत्ता सहयात्री दलहरुबीच आजै भागवण्डा टुंगिने बताएका हुन्। स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच मन्त्रालयको भागवण्डा टुंगिएको छ।

एमालेले आठवटा मन्त्रालय लिने मोटामोटी सहमति भएको छ। यसैगरी माओवादीले पाँच वटा, राष्ट्रिय स्वतन्त्र पार्टीले तीन वटा, राप्रपाले दुई वटा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले एक एकवटा मन्त्रालय लिने सहमति भएको छ।

प्रचण्ड र ओलीबीच कुन दलले कुन मन्त्रालय पाउने भन्ने पनि सहमति भएको छ। यद्यपि यो विषयमा केही खुलाइएको छैन। स्रोतका अनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन उपप्रधानसहित उर्जा मन्त्री बन्ने तय भएको छ।

अब एक दुई दिनभित्रै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको छ। प्रधानमन्त्रीले सभामुख र उपभामुखको निर्वाचन अगाडि नै सरकारलाई पूर्णता दिन चाहेपछि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सोमबार झण्डै पाँच घण्टा लामो छलफल भएको हो।

पुस १०मा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले ११ पुसमा सपथ ग्रहण गरेसँगै आठ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए। उनले पुस २६ मा विश्वासको मत लिएपछि मन्पिरिषदलाई पूर्णता दिने बताएका थिए।

तर दलहरुबीच मन्त्रालयमा भागबण्डा नमिल्दा मन्त्रिपरिषदले पूर्णता पाउन सकेको थिएन। प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच सोमबार मन्त्रालयको भागबण्डा मिलेसँगै अब सरकारले पूर्णता पाउने भएको हो। यसअघि एमालेबाट उपप्रधान तथा अर्थमन्त्रीसहित चार जना मन्त्री नियुक्त भइसकेका छन्।

माओवादीबाट प्रधानमन्त्री र उपप्रधानमन्त्रीसहित दुई रास्वपाबाट उपप्रधान तथा गृह र जनमतबाट एक जना विना विभागीय मन्त्रीले सपथ लिइसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.