अन्नपूर्ण गाउँपालिकाले रोयल्टीबापत रु आठ करोड पाउने
गलेश्वर। म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ४ नारच्याङ गाउँमा सञ्चालित पाँच वटा जलविद्युत् आयोजनाबाट गाउँपालिकाले चालु आर्थिक वर्षमा रु आठ करोडभन्दा बढी विद्युत रोयल्टी पाउनेभएको छ ।
६ मेगावाटको घलेम्दी र ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् आयोजनाबाट उत्पादित विजुली एक वर्षदेखि केन्द्रीय प्रशारण लाइनमा जोडिएको छ। कूल ७१ मेगावाटको निलगिरि क्यास्केट, ३८ मेगावाटको निलगिरी खोला र ६ मेगावाट क्षमताको रेलेखोला आयोजना निर्माणाधीन छन्। निलगिरि १ र २ दुवैले चालु आर्थिवर्षमा निर्माण सक्ने लक्ष्य लिएका छन्।
अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्माका अनुसार वित्त आयोगबाट विद्युत् रोयल्टी वापत रू ८ करोडभन्दा बढी, वन रोयल्टी विनियोजन भएको पत्र गाउँपालिकामा प्राप्त भएको छ। त्यसका साथै पर्यटनबाट रू ४० हजारभन्दा बढी रोयल्टी विनियोजन भएको पत्र पनि पालिकालाई प्राप्त भएको उनले जानकारी दिए।
नारच्याङमा सञ्चालित जलविद्युत् आयोजनाबाट पाँच सयभन्दा बढी स्थानीयले रोजगारी पाएका वडाध्यक्ष लोकबहादुर फगामीले बताए। उनका अनुसार विद्युत् आयोजनाले स्थानीय तीन वटा विद्यालयका शिक्षकको तबल भत्ता, अन्य खेलकुद मैदानसमेत पूर्वाधारमा सहयोग, आमा समूह, युवा क्लबलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आएका छन्।
जलविद्युत् आयोजनाबाट सामाजिक तथा वातावरणीय क्षेत्रमा प्राप्त औषत वार्षिक रू दुई करोड पनि यही वडाभित्र खर्च हुनेगरेको उनले जानकारी दिए। यसअघि निर्माण सम्पन्न भएको मिस्त्रीखोलाबाट पनि वडाले मनग्य सामाजिक क्षेत्रमा सहयोग पाएको उनले बताए। “जलविद्युत् आयोजनाकै कारण गाउँको विकासमा सहयोग पुगेको छ, स्थानीयले रोजगारी पनि पाएका छन्”, उनले भने।







डिसी नेपाल







Facebook Comment