विकास निर्माणमा अवरुद्ध गर्ने छुट कसैलाई छैन : मन्त्री श्रेष्ठ

डिसी नेपाल
३ माघ २०७९ १५:२७
68
Shares

चितवन। उपप्रधान एवं भौतिक योजना तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणमा अवरुद्ध गर्ने छुट कसैलाई नभएको बताएका छन्।

आज यहाँ निर्माणाधीन ६ लेन सडक र बाइपास को निरीक्षण अनुगमनपछि उनले देशको विकास निर्माणमा अवरुद्ध गर्ने, सम्झौता पालना नगर्ने, नोक्सान पुर्‍याउने प्रवृतिलाई छुट नदिइने बताएका छन्। उनले भने, “म काम चाहने मान्छे हो। कारबाही गर्नु नपर्ने गरी काम गर्नुहोस्।”

गुणस्तरीय कायम गर्दै समयमा आयोजना सम्पन्न गर्न निर्माण व्यवसायीलाई उनले निर्देशनसमेत दिए। उनले थपे, “अहिलेसम्म समयमा काम सम्पन्न भएको रहेनछ। थोरै अवधिमा सम्पन्न गर्ने गरी काम गराैँ कारबाही गर्न नपरोस्।” केही दिनयता क्रसर व्यवसायीले विकास निर्माणमा असर गर्ने गरी बन्द गर्नथालेको बताउँदै उनले क्रसर व्यवसायीको समस्या केही दिनभित्रै टुङ्गो लाग्ने बताए।

“सम्बन्धित मन्त्रालयसँग कुरा भइरहेको छ । केही दिनमा समस्या समाधान हुन्छ”, उनले भने। गृह मन्त्रालय समस्या समाधानका लागि लागेको उनले जानकारी दिए।

यसअघि भरतपुर महानगरपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले रोकिएका विकासका आयोजना तीव्र गतिमा अघि बढाइने बताए। राष्ट्रिय गौरवका आयोजनाको काम के कारणले रोकिएको हो भन्ने समस्या पहिचान गरेर समाधान गर्दै अघि बढाइने उनको भनाइ थियो। विकास निर्माणका काम सम्पन्न गर्नका लागि संविधान, कानुन र नियमभित्र बसेर सबै एक जुट भएर अघि बढ्नुपर्ने उनले बताए।

उनले भने, “हाम्रो प्राथमिकता सुशासन, यातायात व्यवस्थापन र भौतिक पूर्वाधारका क्षेत्रको विकास छ।” यी काममा सरकार लागिपर्ने उनले बताए। भ्रष्टाचार र अनियमितता विकासका शत्रु भएको भन्दै उहाँले यसको अन्त्य सरकारको मुख्य प्रथामिकता रहेको बताए।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राष्ट्रिय गौरवका आयोजनामा स्थानीय सरकारले समन्वय गर्दै काम गरिरहेको बताइन्। महानगरभित्रका आयोजनामा सङ्घीय सरकारको सहयोग आवश्यक रहेको उनले जानकारी गराइन्।

माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले माडीवासीका समस्याका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराए। सो अवसरमा महानगरका उपप्रमुख चित्रसेन अधिकारी, मन्त्रालयका सचिव दीपकप्रसाद सिग्देल, चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीलगायतले बोलेका थिए। – रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.