प्रतिनिधिसभा सभामुख निर्वाचन : आज उम्मेदवारी दर्ता, उम्मेदवारकाे टुंगाे छैन

डिसी नेपाल
४ माघ २०७९ ७:०९
60
Shares

काठमाडौं। प्रतिनिधिसभा सभामुख निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिँदै छ। संसद् सचिवालयले मंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै आज उम्मेदवारी दर्ता र माघ ५ बिहीबार प्रतिनिधिसभा सभामुखको निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरेको हो।

सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार बुधबार दिउँसो १ देखि ४ बजेसम्म सभामुखका उम्मेदवारले मनोनयन दर्ता गर्न सक्नेछन्। बुधबार नै ४ बजेर १५ मिनेटमा उम्मेदवारी नामावली प्रकाशन गरिने कार्यसूचीमा उल्लेख छ।

माघ ५ गते बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्तावित गर्ने र समर्थकले समर्थन गर्नेछ। साथै उम्मेदवारको सूचनामाथि सामूहिक रूपमा छलफल हुने र दर्ता क्रमानुसार निर्माणार्थ प्रस्तुत गर्ने सचिवालयले जनाएको छ।

नेपालको संविधानमा निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने प्रावधान छ।

सोहीअनुसार पुस २६ गते बसेको बैठकले सभामुखको निर्वाचन माघ ५ गते गर्ने गरी मिति तोकेको हो। गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक २५ पुसमा बसेको थियो । प्रतिनिधिसभाको अर्को बैठक आगामी माघ ५ गते बिहान ११ बजे बस्दैछ।

सत्तागठबन्धनमा सभामुख एमालेले पाउने सहमति भइसकेको छ। त्यसैले एमालेबाट को सभामुखको उम्मेदवार होला भन्ने चासो बढेको छ।

एमालेबाट सभामुखका लागि अहिलेसम्म तीनजना मुख्य दाबेदार देखिएका छन्। जसमा झापाका देवराज घिमिरे, रुपन्देहीका छविलाल विश्वकर्मा र लमजुङका पृथ्वी सुब्बा गुरुङ छन्। गुरुङ पार्टी उपमहासचिवसमेत हुन्। विश्वकर्मा सचिव हुन्।

तर, एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधि सभाको सभामुखमा घिमिरेलाई उम्मेदवार बनाउने भएको स्रोतले बतायो। झापा २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका घिमिरेलाई ओलीको विश्वासपात्र मानिन्छ।

एमाले प्रदेश-१ इञ्चार्जसमेत रहेका घिमिरे पहिलोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनी २०५६ सालमै राष्ट्रियसभा सदस्य बनेका थिए। एमालेमा सुरुदेखि नै गुरुङलाई सभामुख बनाउन दबाब पर्दै गए पनि पछिल्लो समय उनी दौडमा पछि परेका छन्।

नेपाली कांग्रेसले पनि सभामुखमा उम्मेदवारी दिने बताए पनि कसलाई उठाउने भन्ने निर्णय गरेको छैन। सत्ता गठबन्धनमा निर्वाचित गर्नसक्ने मत भएकाले पनि कांग्रेसले आफ्नो उम्मेदवारको नाम बुधबार मात्र तय गर्ने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.