काँग्रेसले अरु दलसँग सल्लाह गरेर सभामुखको उम्मेदवारी टुंग्याउने

डिसी नेपाल
४ माघ २०७९ १२:३५
136
Shares

काठमाडौं। नेपाली काँग्रेसले सभामुखमा उम्मेदवारी दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको धारणा कुर्ने भएको छ।

बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उम्मेदवारी दर्ता दिन प्रधानमन्त्रीको धारणा कुर्ने र त्यसबेलासम्म अन्य दलसँग छलफल गर्ने निर्णय गरेको काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

‘प्रधानमन्त्रीज्यूले हिजो सर्वदलीय बैठक राख्नुभएको थियो। बैठकपछि उहाँहरुले केही निर्णय लिनुभएको होला। हामी प्रधानमन्त्रीको धारणा कुरिरहेका छौं। त्यसबेलासम्म अन्य दलसँग पनि सहयोगका लागि छलफल गर्छौं। एक दुई घन्टा समय बाँकी छ। कसलाई उम्मेदवार बनाउने भन्ने पार्टीभित्र मोटामोटी सहमति भएको छ,’ महतले सञ्चारकर्मीसँग भने।

यसैबीच, काँग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई उठाउने तयारी गरेको छ। आज बिहान बसेको पदाधिकारी बैठकले सकेसम्म सर्वसम्मतिबाट उम्मेदवार चयन गर्ने, नभए न्यौपानेलाई अघि सार्ने तयारी गरेको हो।

‘अझै दर्ता समय केही बाँकी छ, यो बीचमा अन्य दलसँग छलफल गर्छौं। त्यसका आधारमा हामीले अन्य दलको सहयोग लिएर उम्मेदवारी दर्ता गर्नेछौँ। व्यक्तिको बारेमा टुङ्गो लगाउने कुरा भएको छैन। अहिले कुन दलबाट सहयोग लिन सकिन्छ भनेर अन्य दलको सहयोगका लागि यो बीचको समय उपयोग गर्नेछौँ ।’, काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले डिसी नेपालसँग भने।

तर कांग्रेसले औपचारिक निर्णय गरेको छैन। सभामुखका लागि कांग्रेस नेताहरू अन्य दलसँग परामर्श सुरु गरेका छन्। सभामुख चयनकै लागि कांग्रेस संसदीय दलको बैठक बैठक १ बजे सिंहदरबारमा बस्दैछ।

बुधबार बिहान कांग्रेस सभापति देउवालाई भेट्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव धुम्बाराही पुगेका थिए। देउवा, नेपाल र यादवबीच सभामुख, उपसभामुख, राष्ट्रपतिको निर्वाचनमा कसरी जाने भन्ने विषयमा छलफल भएको प्रवक्ता महतले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.