कांग्रेसबाट सभामुखमा उम्मेदवारी दिएकी न्यौपाने को हुन्?

डिसी नेपाल
४ माघ २०७९ १६:३१
796
Shares

काठमाडौं। प्रतिनिधिसभाको सभामुख पदका लागि नेपाली कांग्रेसका नेत्री ईश्वरीदेवी न्यौपानेले मनोनयन दर्ता गराएकी छन्। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा व्यवस्था गरिएको निर्वाचन अधिकृतकको कार्यालय पुगेर उनले मनोनयन दर्ता गराएकी हुन्।

उनको प्रस्तावकमा पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वाला छन्। उनको जन्म २०१६ सालमा दाङमा भएको थियो। उनी समानुपातिक निर्वाचन प्रणालीबाट सांसद निर्वाचित भएकी हुन्।

न्यौपाने नेपाली कांग्रेसको १२औँ महाधिवेशनदेखि केन्द्रीय सदस्यका रुपमा रहेकी छिन्। उनी २०६४ र २०७० सालको संविधानसभा सदस्य थिइन्। तत्कालीन व्यवस्थापिका–संसद्मा उनी पार्टीको सचेतक थिइन्। विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गुरेकी उनी नेपाल महिला सङ्घको केन्द्रीय उपाध्यक्ष भइसकेकी छन्।

आज अपराह्न १ देखि ४ बजेसम्म सङ्घीय संसद् भवनमा प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिने कार्यतालिका तोकिएको थियो। निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारको सूचनाको दर्ताअनुसारको सूची आजै प्रकाशित गरिने छ।

यसअघि आजै सभामुख पदका लागि सत्ता साझेदार दलका तर्फबाट नेकपा (एमाले)का सांसद देवराज घिमिरेले पनि मनोनय दर्ता गराएका छन्। प्रतिनिधिसभाका सभामुखको निर्वाचन यही माघ ५ गते बिहान ११ बजे हुँदैछ।

उक्त बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ।

त्यसलगत्तै उम्मेदवारीको सूचनामाथिको सामूहिक रुपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिनेछ। प्रतिनिधिसभाको गत पुस २६ गतेको बैठकले माघ ५ गते सभामुखको निर्वाचन गर्न आज निर्वाचन तालिका प्रकाशित गर्न निर्देशन दिएको थियो।

सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.