निफ्राले गर्यो प्रगति, खुद नाफा ७३.२२ प्रतिशतले वृद्धि
काठमाडौँ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार बैंकले ७६ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो बर्षको यहि अवधिको तुलनामा ७३.२२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा बैंकले ४४ करोड २६ लाख खुद नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ। बैंकको खुद ब्याज आम्दानी पनि ६०.८८ प्रतिशतले बढेर १ अर्ब ३२ करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ८२ करोड ३५ लाख रुपैयाँमा सीमित थियो। यस्तै, ६३ करोड २३ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेकोमा समीक्षा अवधिमा बढेर १ अर्ब ९ करोड रुपैयाँ पुगेको छ। सञ्चालन मुनाफा ७३.०९ प्रतिशतले बढेको छ।
यो दोस्रो त्रैमाससम्ममा बैंकले ५७ करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ८२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ। यता, जगेडा कोषको आकार भने ४१.३० प्रतिशतले घटेर १ अर्ब ६६ करोड रुपैयाँमा खुम्चिएको छ। गत वर्ष यही अवधिमा रिजर्भमा २ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो।
बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४.४३ रुपैयाँबाट बढेर ७.०९ रुपैयाँ पुगेको छ। बैंकको सीडी रेसियो ८३.९९ प्रतिशत, कस्ट अफ फन्ड ९.८७ प्रतिशत, पीई रेसियो ३२.१४ गुणा र प्रतिसेयर नेटवर्थ १०७.७३ रुपैयाँ रहेको विवरणमा उल्लेख छ।







डिसी नेपाल







Facebook Comment