न्यादीमा क्षमताअनुसारको विद्युत् उत्पादन भएन

डिसी नेपाल
२६ माघ २०७९ १०:४७
128
Shares

लमजुङ। लमजुङको मर्स्याङ्दी गाउँपालिकामा निर्माण सम्पन्न भई उत्पादन थालेको न्यादी जलविद्युत आयोजनाले हिँउद लागेसँगै खोलामा पर्याप्त पानी नहुँदा क्षमताअनुसार विद्युत् उत्पादन गर्न सकेको छैन।

३० मेगावाट क्षमताको सो जलविद्युत आयोजनामा माघ लागेसँगै १० देखि १२ मेगावाट मात्रै विद्युत उत्पादन हुँदै आएको आयोजनाका बासु गर्तौलाले जानकारी दिए।

नेपाल विद्युत् प्राधिकरणले पूरै क्षमतामा विद्युत् उत्पादन गर्न आग्रह गरे पनि खोलामा पानी नहुँदा क्षमताअनुसारको विद्युत् उत्पादन गर्न नसकिएको गर्तौलाको भनाइ छ। दुईवटा टर्वाइन रहेको सो आयोजनामा हाल पानीको उपलब्धताअनुसार पालैपालो एउटा टर्वाइनबाट मात्रै विद्युत् उत्पादन भइरहेको आयोजनाले जनाएको छ।

अब विस्तारी गर्मी बढेकाले हिउँ पग्लने र खोलामा पानीको मात्रा बढ्यो भने विद्युत उत्पादन पनि बढ्नसक्ने अनुमान गरीएको छ। आयोजनामा अघिल्लो महिना पनि अहिलेको भन्दा कम मात्रामा विद्युत उत्पादन भएको थियो। अघिल्लो महिना अहिलेको भन्दा थप मात्रामा विद्युत् उत्पादन गर्न सकिने अवस्था भए पनि विद्युत् प्राधिकरणले उत्पादित विद्युत् खरिद नगरेपछि आयोजनामा कम विद्युत उत्पादन हुँदै आएको थियो। मस्र्याङदी गाउँपालिका–६, स्थित ङाँदी खोलमा निर्माण सम्पन्न न्यादी जलविद्युत आयोजनाले गत वैशाख महिनादेखि नै व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको हो।

गत वर्षको पुस महिनामा आयोजना निर्माण सम्पन्न भई वैशाखदेखि उत्पादन गरेको थियो। पुस महिनामै आयोजना निर्माण सम्पन्न भएपनि प्रसारण लाइन नहुँदा विद्युत् उत्पादन हुन रोकिएको थियो। आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा ४ रुपैयाँ ८० पैसा र सुक्खायामका लागि आठ रुपैयाँ ४० पैसामा विद्युत खरिद सम्झौता (पीपीए) भएको थियो। हाल र आगामी आर्थिक वर्षका लागि सोही रकम कायम भएको र अर्को आर्थिक वर्षदेखि मूल्य परिवर्तन हुने आयोजनाले जनाएको छ।

चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनीले निर्माण गरेको सो आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *