आफ्नै जिल्लाका नेता एमाले प्रवेश गरेकोमा प्रचण्ड बेखबर, गरे केन्द्रीय सदस्यमा मनाेनित
काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय समितिलाई पूर्णता दिएको छ। माओवादीले महाधिवेशन सम्पन्न गरेको करिब एक वर्षपछि केन्द्रीय समितिलाई बिहीबार पूर्णता दिएको हो।
तर, माओवादीले पुरानै केन्द्रीय समितिको लिखतलाई सार्वजनिक गरेको अनुमान लगाउन सकिन्छ। केन्द्रीय सदस्यहरुको सूचीमा माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका नेताको नामसमेत भेटिएपछि यस्तो आशंका बढेको हो।
अझ स्मरणीय के छ भने, माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका नेता पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै गृहजिल्ला निवासी हुन्। केन्द्रीय सदस्यको सूचीमा रहेका यामबहादुर परियार इन्द्रजित पार्टी अध्यक्ष प्रचण्डकै गृहजिल्ला चितवनकै हुन्।
उनी गएको संघ र प्रदेशको चुनाव अगावै माओवादी परित्याग गरेर एमालेमा प्रवेश गरेका थिए। उनी माओवादी जनयुद्धमा प्रभावकारी भूमिका निर्वाह गरेका चितवनका स्थापित माओवादी नेता हुन्।

उनलाई चुनाव अगावै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका थिए। त्यतिबेला नै माओवादीको केन्द्रीय सदस्य र चितवन जिल्ला इन्चार्ज रहेका उनी प्रचण्डपुत्री रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयर बनाउन उल्लेख्य भूमिका खेलेका थिए।
साथै, अघिल्लो निर्वाचनमा प्रचण्डलाई चितवन क्षेत्र नं ३ बाट अध्यक्ष प्रचण्डलाई विजयी बनाउन उनकै भूमिका रहेको बताइन्छ।
माओवादी जनयुद्ध हुँदै शान्ति प्रक्रियासमेत पार्टीमा महत्वपूर्ण भूमिका खेलेका उनलाई अध्यक्ष प्रचण्डले सदैब परिवारवादलाई प्रश्रय दिएर आफूलाई अवमूल्यन गरेको आरोप लगाउँदै एमालेमा प्रवेश गरेको बताएका थिए।
उनैलाई केन्द्रीय सदस्यमा मनोनित गरिनु माओवादी आफ्नै कार्यकताप्रति निगरानी गर्न छाडेको हो कि भन्ने प्रश्न समेत उब्जाएको छ।
आफ्नै जिल्लावासी नेताको विषयमा समेत अध्यक्ष प्रचण्डलाई जानकारी नहुनुले अन्य क्षेत्रका कार्यकर्ताप्रति झन् के जानकार होलान् भन्ने आशंका उत्पन्न गराएको छ। उसो त प्रचण्ड चुनाव क्षेत्र परिवर्तन गरी गोरखा पुगेको हुँदा गृह जिल्लातर्फ ध्यान पर्याउन नसकेको चर्चासमेत बढेको छ।







डिसी नेपाल








Facebook Comment