डि. आर. सुजनको ‘सेतो घर’ टेलिश्रृङ्खला र ‘उडेकी चरी’ गीत सार्वजनिक

डिसी नेपाल
२९ माघ २०७९ २२:४७
44
Shares

काठमाडौं। डि.आर. सुजनको ‘सेतो घर’ टेलिश्रृङ्खला र ‘उडेकी चरी’ नामक गीती एल्बम सार्वजनिक भएको छ। आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा उक्त टेलिश्रृङ्खलाको प्रोमो र गीतको विमोचन गरिएको हो।

सामाजिक यथार्थमा आधारित भएर बनेको सेतो घर टेलिश्रृङ्खलालाई डि. आर. सुजन फिल्मस्ले निर्माण गरेको छ। यस टेलिश्रृङ्खलामा विगत लामो समयदेखि नेपाली कलाकारिता श्रेत्रमा कार्यरत लक्ष्मण बस्नेत, देशभक्त खनाल, विद्या कार्की लगायतका कलाकारको अभिनय रहेको छ।

‘सेतो घर’ टेलिश्रृङ्खला हरेक हप्ताको सोमबार बेलुकी ७ः१५ बजे डि. आ. सुजन फिल्मस्को आफिसियल युट्युब च्यानलमार्फत प्रशारण हुनेछ। टेलिश्रृङ्खलाको पहिलो भाग भोलि (फागुन १ गते) सार्वजनिक हुने बताइएको छ।

त्यसैगरी, ‘उडेकी चरी’ गीतमा सुदूरपश्चिम प्रदेशका बादी समुदायका पीडालाई समेटिएको बताइएको छ। गीत देवी घर्तीको आवाजमा रहेको छ। स्मृति शाही र पुष्पा बोहोराले गायिका घर्तीलाई साथ दिएका छन्।

गीतको म्युजिक भिडियोमा रोशनी कार्की, डि. आर. सुजन, सूर्य ओली, प्रिय पोखरेल, अर्जुन कार्की, नन्दाराम बादी लगायतको अभिनयमा रहेको छ। छायाँङ्कन रेशम दलार्मीको रहेको छ। गीतको निर्माण धुन नेपालले गरेको हो। गीत आज नै कलाकार डी.आर सुजनको अफिशियल युटुब च्यानलबाट सार्वजनिक हुने बताइएको छ।

कलाकार नन्दराम बादीले सुदूरपश्चिमका बादी समुदायका छोरीहरुको पीडा उडेको चरीमा पाइएको उनले बताए।

‘सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहनुहुने बादी समुदायका छोरीहरु जो बाध्यात्मक यौन पेशामा रहेका छन्। त्यसको टीका सरकारले अहिलेसम्म पुछ्न नसकेको पीडालाई यो उडेको चरीमार्फत यो टीका पुछियोस् भन्ने म चाहन्छु,’ उनले भने।

बादी समुदायका छोरी चेलीलाई त्यो पेशाबाट मुक्त गराएर शिक्षा र आयआर्जनमा जोड्नु पर्ने उनको माग छ। बादी समुदायको हक हित सरकारले कागजमा मात्रै सीमित राखेको उनको आरोप छ। सरकारले बादी समुदायका लागि प्याकेजमा कार्यक्रम ल्याउनु पर्नेमा उनले जोड दिएका छन्।

कार्यक्रमका प्रमुख अतिथि नागरिक उड्यायनविद् एवं पर्यटन व्यवसायी डा. लेखनाथ भण्डारीले कलाकारिता देशको लागि महत्वपूर्ण गहना भएको बताए। हामीले हाम्रो गीत, कलाकारिता संस्कृतिलाई बचाउनु पर्ने उनको बुझाइ छ।

‘म पर्यटन व्यवसायमा झण्डै २८ वर्षदेखि छु । हामीले दुई चिज विदेशीहरुलाई बेच्छौं। एउटा हाम्रो देशको प्रकृतिलाई बेच्छौं अर्को हाम्रो देशको संस्कृति बेच्छौं। गीत, कलाकारिता, फिल्म हाम्रो संस्कृतिमा पर्छ। प्रकृतिसँगै संस्कृति आउँछ,’ उनले भने।

डि. आर. सुजनको सेतो घर डायमन शमशेरको उपन्यास सेतो बाघसँग तुलना गर्न योग्य रहेको बताए।

साथै, उनको गीतले बोकेको सन्देशमा सरकारको ध्यान जान जरुरी रहेको उनले बताए। राज्यले बादी समुदायका युवा युवतीलाई उत्पादनसँग जोडेर आयआर्जनको वातावरण सिर्जना गरिदिन उनले सरकारसँग आग्रह गरेका छन्।

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका उपमहासचिव एवं कार्यक्रमका अतिथि शिव हमालले डि.आर सुजनका हरेक कामले समाजलाई सकारात्मक सन्देश प्रदान गर्ने गरेको बताए।

उनका गीतका कथाहरुबाट सुजनबाट हामीले सिक्न सक्छौं भन्ने कुरालाई प्रष्ट पारेको उनको बुझाइ छ। उनले डि. आर. सुजनका दुवै सिर्जनालाई सफलताको शुभकामना दिएका छन्।

डि. आर सुजनले आफ्नो गीत ‘उडेको चरी’ गीत दुई वर्षको अनुसन्धानको प्रतिफल भएको बताए। गीतमा सुदूरपश्चिमका बादी समुदायका यथार्थतालाई बाहिर ल्याउने कोशिस गरेको उनले प्रष्ट पारे।

सुदूरपश्चिमका बादी समुदायका युवा युवतीका बारेमा सरकारले खासै चासो नदिएको उनको बुझाइ छ । कथामा पुरानो नेपाली कलालाई झल्काउने प्रयास गरिएको उनले बताए।

कार्यक्रममा विधान कार्की, स्मृति शाही, आर्टिस्ट पुनम चौधरी, वरिष्ठ कलाकार लक्ष्मणविक्रम बस्नेत, अधिवक्ता भीम प्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.